मोदीको सुरक्षामा ११ हजार सुरक्षाकर्मी,भ्रमण राजकीय हुने,यस्तो छ कार्यतालिका

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका पाँच हजार, सशस्त्र प्रहरी र नेपाली सेनाका तीन तीन हजार र राष्ट्रिय अनुसन्धानबाट दुई सयको हाराहारीमा सुरक्षाकर्मी खटिँदैछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते यहाँ आउने भएका छन् । प्रधानमन्त्री मोदीलाई सोही दिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन् । साथै दुवै प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन् । साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उनि दुई पटक नेपालको भ्रमणमा आएका थिए ।

सम्बन्धित शिर्षकहरु