नुवाकोट–रसुवा जोड्ने बेत्रावतीको झोलुङ्गे पुल बाढीले बगायो

साउन २१, रसुवा । अविरल वर्षाका कारण फलाखु खोलामा आएको बाढीले नुवाकोट र रसुवा जोड्ने ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुल बगाएको छ। बाढीले पुल बगाएर जमिन कटान गरेपछि एक दर्जनभन्दा बढी घर जोखिममा परेका छन्। फलाखु खोलामा शुक्रबार राति आएको बाढीले नुवाकोट तर्फको जगमा क्षति पु¥याएपछि पुल बगाएको हो।

नुवाकोटको साविक गेर्खु– ९ र रसुवाको लहरेपौवा– १ स्थित बेत्रावतीमा रहेको सो झोलुङ्गे पुलको जगको पिल्लरमा बाढीले क्षति पुर्याएपछि नुवाकोटतर्फ पुलको संरचना चुडिएको हो। झोलुङ्गे पुल बगाए पनि नजिकै पक्की पुल भएकाले दुई जिल्लाको आवतजावत कायमै रहेको बेत्रावतीमा क्रियाशील गोसाईंकुण्ड युवा क्लबका कोषाध्यक्ष शशी डंगोलले जानकारी दिए।

स्कटल्याण्ड सरकारबाट नेपाललाई तीनवटा पुल निर्माणमा पु¥याएको सहयोग कार्यक्रममार्फत विस २००४ मा निर्माण भएको उक्त पुलले नेपाल र चीनबीचको पद्मार्गको सम्पर्क विस्तारमा सहयोग पुर्याएको थियो । यो पुल रसुवा जिल्लालाई बाहिर जिल्लासँग जोड्ने पहिलो पुल हो। उक्त पुलको निर्माणपछि रसुुवाको रसुवागढी हुँदै चीनको केरुङ बजारसम्मको व्यापार फस्टाएको थियो।

बाढीले पुलको जग बगाएर जमिन कटान गरेपछि गेर्खु– ९ का विष्णुबहादुर डंगोल, पूर्णलाल डंगोल, चन्द्रबहादुर डंगोल, कान्छी केसीलगायत एक दर्जनभन्दा बढी घर जोखिममा रहेको छ । रासस

सम्बन्धित शिर्षकहरु