सहमति खोज्न सर्वदलीय बैठक !

काठमाडौं, १५ वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन एवं स्थानीय तह संख्या निर्धारणलगायतको विषयमा सहमति जुटाउन बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । सबैलाई मिलाएर निर्वाचनको माहोल तयार गर्ने उद्देश्यले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले पछिल्लो संविधान संशोधन प्रस्तावको अन्तरवस्तुलाई राष्ट्रहित बिपरीत भएको प्रतिक्रिया दिएका छन् । मधेसवादी दलहरु संशोधन नभई चुनाव हुन नसक्ने अडान लिएका छन् ।शनिवार साँझसम्म सांसदहरुले राख्ने एकल र संयुक्त संशोधन प्रस्तावका आधारमा दलहरुबीच विधेयक परिमार्जनको सर्वमान्य विकल्पमा छलफल गर्ने बाटो खुला छ ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई एकै ठाउँमा बसेर आम सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री लागेको स्रोतले बतायो । ‘संविधान संशोधन प्रस्तावलाई अगाडि बढाइ मुलुकभर स्थानीय निर्वाचन गर्ने सरकारको लक्ष्य छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘आज हुने सामुहिक छलफलले निष्कर्षमा पुग्नसकिने सरकारको अपेक्षा छ ।’

सम्बन्धित शिर्षकहरु