आन्दोलन अझ सशक्त बनाउने एमालेको निर्णय

काठमाडौं । व्यवस्थापिका– संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव विरुद्ध थालेको आन्दोलन अझै सशक्त बनाउने एमालेले निर्णय गरको छ ।

पार्टी मु्ख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले देशव्यापी आन्दोलन चर्काउनुको विकल्प नरहेको बताएको हो ।

“बैठकले असंवैधानिक, जनविरोधी तथा राष्ट्रिय हित प्रतिकूल रहेको संविधान संशोधनसम्बन्धी विधेयकका विरुद्धमा संसदभित्र र बाहिर जारी आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने निर्णय गरेको छ । साथै, उक्त विधेयकका विरुद्ध देशव्यापी आन्दोलनमा अघि बढ्नुभएका आम जनसमुदाय तथा विभिन्न संघ–संगठन र नागरिक समाजप्रति ऐक्यबद्धता प्रकट गरेको छ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, बैठकले २०७४ माघ महिना अगाडि नै प्रतिनिधिसभासहित सबै तहको निर्वाचन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ ।
यसैगरी बैठकले संविधान संशोधन विधेयक फिर्ता लिई निर्वाचनका लागि राजनीतिक शक्तिहरुको बीचमा सहमतिको वातावरण बनाउँदै कानुनी तथा राजनीतिक तयारीका लागि अग्रसरता लिन सरकारको ध्यानाकर्षण गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित शिर्षकहरु