४ दिनको गृहकार्यमा महाभियोग प्रस्ताव दर्ता, संसद्ले राख्यो आजैको कार्यसूचीमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीले सर्वोच्च अदालतको म्याद तामेलीमा नै परिवारका सदस्य लगाएर अवरोध सिर्जना गरेपछि एमाले र माओवादी केन्द्रका केही सांसदहरुको अनौपचारिक बैठकपछि महाभियोग प्रस्ताव दर्ता गराउने तयारी गरेका थिए ।
एमालेका नेताहरु सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाल लगायतका नेताहरुले यस प्रस्तावका बारेमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
त्यसपछि मात्रै महाभियोग प्रस्तावको वातावरण बनेको थियो । माओवादीबाट गिरिराजमणी पोखरेल लगायतका नेताहरु सक्रिय थिए ।
व्यवस्थापिका–संसद्को बुधबारको बैठकले महाभियोग सिफारिस समिति बनाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।
कांग्रेस पनि प्रस्तावको पक्षमा उभिने स्पष्ट संकेत पाएपछि ओलीले हस्ताक्षर अभियान अघि बढाउन निर्देशन दिएको स्रोतले जानकारी दियो ।
त्यसपछि एमाले र माओवादी केन्द्रका १५७ सांसदले हस्ताक्षर गरेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।
दर्ता गर्न आवश्यक संख्या १४९ थियो । संसद्मा हाल कायम रहेको सदस्य संख्या ५९५ को दुई तिहाई अर्थात् ३९७ सांसद्ले प्रस्तावको पक्षमा मतदान गरे कार्कीविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित हुनेछ ।
यसैबीच व्यवस्थापिका संसद्को १ बजे बोलाइएको व्यवस्थापिका संसद्को बैठक दुई पटक बस्ने तयारी गरिएको छ । पहिलो बैठकले छलफलको आजैका लागि मिति तोकेर अर्को बैठकमा छलफल गराउने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु