मोरङमा एक हजारभन्दा बढी परिवार विस्थापित

 

sf]6Lxf]d If]q af9Laf6 s6fg  emfkfsf] sGsfO{ gbLdf cfPsf] af9Ln] sf]6Lxf]d If]qsf a:tL s6fg ug{ yfn]kl5 af9Laf6 s6fg /f]Sg :yfgLo afl;Gbfn] c:yfoL t6aGwg agfPsf 5g . o1/fh cfªb]Da]÷bds,/f;;

विराटनगर । लगातार एघारौँ दिन पनि वर्षा जारी रहेपछि मोरङमा विस्थापित परिवारको सङ्ख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको छ ।
जिल्लाका सन्दह, अमरदह, आमगाछी, गोविन्दपुर, डाइनिया, कटहरी, सोराभाग लगायत दर्जनौँं गाविसका साथै विराटनगरको बखरी बस्ती समेतका एक हजारभन्दा बढी घरपरिवार विस्थापित अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विभिन्न नदीका पानी मानव बस्तीमा पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली उद्धारमा निरन्तर रुपमा जुटेका छन् । बाढीबाट विस्थापित परिवारलाई रेडक्रस मोरङले खाद्यान्न सामग्री वितरण गरिरहेको छ । एक हजार २०० परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको र थप ७०० परिवारलाई खाद्यान्न सामग्री वितरणको तयारी भइरहेको रेडक्रस मोरङका अधिकृत कमल कोइरालाले जानकारी गराएका थिए ।
सबैभन्दा बढी क्षति बक्राहा खोलाले गरेको छ । पथरी–डाइनिया सडक मार्गको पूर्वपट्टिको भाग पूर्ण रुपले जलमग्न छ । गोविन्दपुर– ५ र डाइनिया– ५ मा पुग्न नसक्ने अवस्था छ । त्यहाँबाट प्रहरीको संयुक्त टोलीले कतिपय परिवारलाई उद्धार गरेको छ । सयाँैं मानिसले यतिखेर सडकमै आश्रय लिएका छन् ।
बाढीबाट प्रभावित क्षेत्रमा रोपिएका हजारौँ हेक्टरका धानबाली डुबान अवस्थामा रहेको छ । एक सातासम्म डुबान भइरहेमा धानबाली गल्ने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो । मधुमल्लाका चार परिवार विस्थापित
उर्लाबारी (मोरङ)– बक्राहा खोलाले कटान तीव्र पारेपछि मधुमल्ला–४ धप्पर टोलका चार परिवार आज बिहान विस्थापित भएका छन् ।
स्थानीयवासी शेरबहादुर मगर, सनबहादुर मगर, चेतबहादुर मगर र झगत मगरको घर खोलाले कटान गर्न थालेपछि उनीहरु पूर्ण रुपमा विस्थापित भएको स्थानीयवासी कमल मगरले जानकारी दिए ।
त्यस्तै सोही ठाउँका सुन्दर मगर, शिव मगर, दीपक मगर, शुक्र मगर, कालीबहादुर मगर, मनबहादुर मिश्र, गर्जमान मगर, कोपिला खड्का, रमिला राई, तारावीर खड्का र अशोक गोलेको घर पनि डुबानमा परेर कटानको जोखिममा रहेको छ ।
लगातारको वर्षाका कारण पीडितलाई सुरक्षित स्थानमा सारेर राहत उपलब्ध गराउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले जानकारी दिए ।
स्थानीयवासी आन्दोलित
लगातारको वर्षाका कारण डुबानमा परेपछि विराटनगर– ४ र ५, कञ्चनबारीका बासिन्दा आन्दोलित भएका छन् । सडक अवरुद्ध गरेर आन्दोलनमा स्थानीय बासिन्दा उत्रिएपछि आज बिहान कोसी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडक खण्डमा दुई घन्टा सवारी आवागमन ठप्प भयो । लगातारका वर्षाका कारण विराटनगरका सबै वडा डुबानमा परेका छन् ।
भारी वर्षा भई पानीको निकास नभएपछि विराटनगर डुबानमा परेको भन्दै नाला निर्माणको माग गरेर स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् । हातहातमा कुटो र कोदालो बोकेर स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि समस्या समाधानका लागि प्रजिअ तोयम रायको नेतृत्वमा सरकारी टोली कञ्चनबारी पुगेको थियो ।
विराटनगर उपमहानगरपालिकाले स्काभेटर प्रयोग गरेर जाम भएको पानीलाई निकास दिने काम सुरु गरेपछि स्थानीय बासिन्दाले आन्दोलन तत्कालका लागि फिर्ता लिएका छन् ।

रातु नदीमा आएको बाढीले बाली नोक्सान
बर्दिबास, ११ साउन । झन्डै दुई सातादेखिको वर्षासँगै रातु नदीमा आएको बाढीले महोत्तरी जिल्लाका उर्वर जग्गा कटान गर्नाका साथै बिघौँ बिघा जग्गाको बाली नोक्सान गरेको छ । बर्दिबास नगरपालिकाका कृष्णपुर, मनहरिपुर तथा पशुपतिनगर, भङ्गाहा, बिजलपुरा, हतिसर्वा र सिङ्ग्याही सहितका गाविसमा साउने सङ्क्रान्तिका दिनदेखि सुरु भएको सघन वर्षासँगै रातु नदीमा आएको बाढीले सयौँ बिघा उर्वर जग्गा कटानसँगै ५० बिघाभन्दा बढीको बाली नोक्सान गरेको किसानले बताएका छन् ।
खासगरी गत आइतबार रातिदेखि परेको मुसलधारे पानीसँगै आएको बाढीले नदीका दुई किनारमा यसपालि बनाइएको कच्ची बाँध तोडेर जग्गा कटान र बाली नोक्सान गरेको किसानको भनाइ छ । बर्खा सुरु भएपछि गत असार अन्त्यतिर बाँधिएको बाँध आइतबार रातिको बाढीले फुटाउँदा आफ्नो गाविसमा मात्र सय बिघा उर्वर जग्गा कटान भएर बगरमा परिणत भएको पशुपतिनगरका पूर्वअध्यक्ष नथुनी महतोले बताए ।
पशुपतिनगर– ४, ६, ७, ८ र ९ का घर घरमा बाढी पसेर उत्पात मच्चाएको पूर्वअध्यक्ष महतोको भनाइ छ । पशुपतिनगरमा १५० बिघाभन्दा बढीमा लगाइएको उखु, तरकारी र बगैँचा समेत बाढीले बगर बनाएको किसानले बताएका छन् ।
त्यसैगरी बिजलपुराको भेडिहारी र जुडीटोल, भङ्गाहाको पलार, टोका र रामनगरसहितका बस्तीमा बाढी पसेको छ । आइतबार रातिको बाढीले आफ्नो गाविसको ५० बिघा जग्गा कटान गरेर ३० बिघाभन्दा बढीको बाली नोक्सान गरेको भङ्गाहा–३ रामनगरका सामाजिक कार्यकर्ता रामईश्वर ठाकुरले बताउनुभयो । आइतबार राति हतिसर्वाका १ र ५ तथा सिङ्ग्याहीका ३, ४, ६ र ९ नं वडामा बाढी घरघरै पसेर ताण्डव मच्चाएको जिविसका पूर्वसदस्य विष्णुनारायण पञ्जियारले बताए ।
सिङ्गै हिउँद त्यत्तिकै कटाएर बर्खा लागेपछि बर्दिबास र पशुपतिनगरमा रातु नदीमा बाँधिएको बाँधको माटो खुकुलो भएकाले बाढीले सजिलै भत्काउँदा ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।
बाँध भत्केकाले अब आउने बाढीले बस्तीका घर सजिलै लडाउने स्थिति देखिएको पशुपतिनगर–६ दलित बस्तीका महेश्वर राम बताउँछन् । प्रजिअ वीरेन्द्रकुमार यादवले बाढी प्रभावित क्षेत्रमा विभिन्न निकायको समन्वयमा बचाउ कार्य तत्काल सुरु गरिने जानकारी दिए ।
ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध
निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक खुलाउन नेपाली सेना र सशस्त्र प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा रहेको ढुङ्गा पन्छाउन लोडर चाहिने र लोडर ल्याएर ढुङ्गा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिप्रका पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यस्तै सरदमुकाम फिदिम–१ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कञ्चनजङ्घा एकेडेमी उमावि तथा त्यहाँ रहेका दुई घर जोखिममा परेका छन् । यसैबीच स्थानीयवासी टेकनाथ बाँस्कोटाको सेफ्टी ट्यांकी र शौचालय पहिराले बगाएको छ । यस्तै उनको घर र जय नेम्वाङको घर पहिराको उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् । नेम्वाङका घरमा डेरा गरी बस्ने सन्तकुमार थापाले पालेका दुई खसी पहिराबाट पुरिँदा मरेका छन् । रासस
बाढीका कारण दैनिक जीवन प्रभावित
बाँके जिल्लाको राप्ती नदीमा पानीको सतह बढेपछि नदी आसपासका गाउँमा बाढी पसेको छ ।
राप्तीको पानीको सतह पाँच मि पुग्यो भने खतरा मानिन्छ । यो समाचार तयार पार्दासम्म नदीको सतह पाँच मि ७० सेमी पुगेको तथा पानीको बहाव अत्यन्त तीव्रताका साथ अघि बढिरहेको जनाइएको छ ।
जिल्लाका होलिया, बेतहनी, गङ्गापुर, मटेहिया, फत्तेपुर गाविसका प्रायःजसो सबै भागमा नदीको पानी पसेको छ । त्यस क्षेत्रका नागरिक सुरक्षित अग्लो स्थानको खोजीमा घर छाडेर हिँडेका छन् । “हामीले सुरक्षित स्थानतर्पm जान त्यस क्षेत्रका नागरिकलाई आग्रह गरेका छौँ । बाढी पूर्वसूचनाको साइरन पनि बजाएका छौँ”—प्रजिअ रविलाल पन्थले बताए ।
यसैगरी बाढी प्रभावित क्षेत्रका नागरिकको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहेका विभिन्न समूहलाई समेत तयारी अवस्थामा राखिएको छ ।
नारायणीमा खतराको सङ्केत
नवलपरासी । लगातारको वर्षाले नारायणी नदीमा आएको बाढीले खतराको सङ्केत गरेको छ ।
नारायणीमा रहेको जल मापन केन्द्रले आठ मि पानीको सतह देखाएको छ । यो जोखिमको अवस्था हो । पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको छ ।
नारायणीमा पानीको सतह बढेपछि गँैंडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन् ।
“खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छाँैं” प्रजिअ महादेव पन्थले भने, “बाढी मापन केन्द्रमा लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छाँैं, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो क्षति पु¥याउन सक्ने हँुदा क्षति रोक्ने उपाय अपनाएका छौँ । ”
भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले बताए ।
नदीमा पानीको सतह घटेको छैन । ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ । भारतले त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर उत्तर प्रदेश र बिहारमा सिँचाइका लागि लगेको गण्डक नहरमा पानी बन्द गरेको छ । नहरका ढोका खोलिएपछि गण्डक नहरको १३ नं स्परमा बढी क्षति पुगेको छ ।
नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको छ ।

सम्बन्धित शिर्षकहरु