सेतीको मानवअधिकार कहाँ छ ?-

सेतीको मानवअधिकार कहाँ छ ?

मन्त्री ज्यू ,
पोहोर साल हजुर ,
मानवअधिकारको गोष्ठीमा
अमेरिका पुगेको बेला ,
यता गाउँमा सेती दमिनीले
इनारमै पिटाइ खाइन ,
पानी छोइएको निहुँमा
ृृउता मंचमा हजुरको
मीठो भाषण थियो ।
नेपाल छुवाछुतमुक्त राष्ट्रको कुरा थियो ।
यता सेतीको घाउ चराउँदै थियो ।।
म सोंच्दैं थिएँ मान्छे हुनुको अर्थ ?
अनि सेतीको जिन्दगी !

मन्त्री ज्यू !
यसपालि हजुरले मन्दिर उट्घाटन गरेकै दिन
उता डोटीमा जसे सार्की मारिए
मन्दिरमा देउता पुजेको आरोपमा
उही देउता बस्ने मन्दिरमा ,
हजुरको भाषण थियो
देउता र ईश्वरको
यता जसेको लास जल्दै थियो ।
म खोज्दै थिएँ देउताको मन्दिरमा जसेको जीवन ।।

यस पालि पे्रम दिवसकै दिन ,
पर्वतका धने बिकले गाउँ छोडे
छोरा वीरेले गाउँकी सीताशर्मालाई
पे्रम गरको अभियोगमा
लखेटिए धनेको परिवार
उता सीताले आत्महत्या गरिन्
वीरेको पे्रम बियोगमा
म सोंच्दै थिएँ
पे्रम भित्र जातको रङ्ग र सीताको जीवनको मूल्य
बिभदेको जरा बलियै छ मन्त्री ज्यू
हजुर समानताको भाषण गर्नुहुन्छ ,
धर्मको मन्दिरमा ,
मानिसको बली हुन्छ यहाँ ।
ठूलो र सानो जातको नाममा
भन्नुस हजुरको ईश्वर कहाँ छन् ?
सेती र वीरेहरुको मानवअधिकार कहाँ छ ?

-पवित्रा सुनार
-हाल नागरिक दैनिक पत्रिकामा कार्यरत

(केहि महिना पुर्व नेपालमा सम्पन्न राष्ट्रव्यापि कविता प्रतियोगितामा पुरस्कृत हुन सफल कविता ।)

सम्बन्धित शिर्षकहरु