घाममा बसेर के गरे तीन दलले ?

10565221_10153820710437329_9036430575522734112_nपुस १४ । काठमाडौं, प्रमुख तीन दलले संसद्मा प्रस्तुत संविधान संशोधनको प्रस्तावबारे मधेसी मोर्चासहितको साझा धारणा बनाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बसेको कांग्रेस, एमाले र एमाओवादी बैठकले संविधान संशोधन विधेयक पारित गर्न र मोर्चाको आन्दोलन रोक्ने विषयमा मोर्चासँग छलफल गरेर साझा धारणा बनाउने निर्णय गरेका हुन् ।

बैठकमा मधेस समस्याबारे गम्भीर छलफल भएको र समस्या समाधानका लागि दुवै पक्षको ‘विन विन’ हुने गरी बीचको बाटोबाट साझा धारणा बनाउने सहमति भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाका नेताले संविधान संशोधन विधेयकमा के परिमार्जन गर्न खोजेको हो ? सो विषयमा मोर्चासँगै छलफल गर्ने निर्णय भएको जानकारी दिए । ‘मोर्चाका नेताहरूले कस्तो र के परिमार्जन गर्न खोज्नुभएको हो, उहाँहरूले भनेजस्तो परिमार्जन सम्भव छ कि छैन, सो विषयमा उहाँहरूसँगै बसेर साझा धारणा बनाउने कुरा भएको छ,’ श्रेष्ठले भने ।

यसअघि प्रमुख तीन दल अघिल्लो सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा केही परिमार्जनसहित संशोधन अघि बढाउन सहमत भएपछि संसद्मा प्रस्ताव प्रस्तुत भई सोमबारदेखि सैद्धान्तिक छलफल सुरु भएको छ । नयाँ संविधानका कतिपय विषयमाथि असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले संशोधन विधेयकका विषयवस्तु र प्रक्रियाप्रति नै असहमति जनाउँदै संसद् अवरुद्ध गरिरहेको छ । सोमबारको बैठकमा मोर्चाका सांसदले नारा लगाएर ‘वेल’ घेराउ गरिरहँदा सभामुख ओनसरी घर्तीले विधेयकमाथिको छलफल अघि बढाएकी थिइन् ।
सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत र डा. मीनेन्द्र रिजाल सहभागी थिए ।

घाममा बसेर के गरे तीन दलले ?
प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रमुख तीन दलले घाम तापेर मधेस समस्याबारे छलफल गरे । संसद्मा प्रस्तुत संविधान संशोधन विधेयक पारित गर्न र मोर्चाको आन्दोलन रोक्ने विषयमा मोर्चासाग छलफल गरेर साझा धारणा बनाउने निर्णय गरे ।

दुवै पक्ष ‘विन विन’ हुने गरी संशोधन
तीन दलबीच ‘विन विन’ हुने गरी संविधान संशोधन गर्ने सहमति भएको छ । तराई मधेस आन्दोलन रोक्न र हाल देखिएको राजनीतिक समस्या समाधान गर्न बीचको बाटोबाट मधेसी मोर्चासाग छलफल गरेर साझा धारणा बनाउने सहमति भएको छ ।

सम्बन्धित शिर्षकहरु