“अभिशापमा नारी”

-तृप्ती पाण्डे पन्त,

जन्मिएकै दिन देखि दिक्क हुन्छन्,

तिम्रै नजिकका आफन्त

छोरा भएको भए छाती फुलाई

हिँड्ने थिए यत्र-तत्र ।

 

जसो तसो थालेका छन्

आजकाल स्कूल पठाउन,

घरको धन्दा सारा सक्नुपर्ने,

भन्छन सघाँउन ।

 

छोरी मान्छे हिड्नै हुन्न,

साझ परेपछि कतै,

ब्वासाँहरु लुकीबसेका छन्

सिकारीझै जताततै ।

 

दाजुभाई थर्काउछन् बोल्ने होइन

केटासंग दाँया बाँया

आफुलाइ भने देख्न हुन्न

केटीको मात्र पनि छायाँ ।

 

पहिले दाजुभाइ भन्थे

हुन्न दिदीबहिनी धेरै पढाउन

अहिले महिला डॉक्टर खोज्दै छन्

आफ्नै श्रीमती जचाँउन ।

 

दुई-चार अक्षर पढ्दै जादा लाग्छ,

शिक्षा मात्र एउटै भर

जान्ने सुन्ने भई छोरी,

पोईला हिड्ली भन्ने डर ।

 

उमेर पुग्यो तिम्रो,

अब बिहेको निर्णय गर

पराए घरनै आफ्नो मान

नयाँ सम्बन्धमा सौदा गर

सबैको बिचार गर्नुपर्ने तिम्रो बाध्यता

अनि कर

भबिष्यमा पढेर केहि गर्ने सपना…….

सपना केबल एक रहर ।

 

भ्रममा नपर नारी

परिवर्तन को युग आयो भनेर

यहाँ राष्ट्र प्रमुख नै अपहेलित छन्

नारी, त्यस माथि विधवा भएर ।

 

कायमै छ अझै पनि

परा-पूर्बकाल देखीको चलन

सम्मान गर्न जानेको भए

किन हुन्थिन सीता धर्तीको गर्भमा बिलिन?

रक्षा गर्न मानेको भ्ए,

किन हुन्थियो द्रौपदीको अनुहार सदा मलिन?

 

इजाजत छैन अझै पनि एकल नारीलाई

श्रृंगारिएर हिंडनलाई ।

स्वीकार्य छैन, पबित्र मंदिरभित्र पसि

देवि देउता बिटुल्याउनलाई ।

 

गल्ती तिम्रो मात्र यति दुई,

अभिशापमा नारीको जन्म पाई

बरदानको माला जपी बस्यौ ।

जीबनसाथी अघि लगाई

सती नगई बॉची बस्यौ ।।

सम्बन्धित शिर्षकहरु