भारतीय बोर्डका स्कुलमाथि छानविन

CBSE_452009163मंसिर १५ । काठमाडौं, नेपालमा दर्ता नगरी भारतीय बोर्डको सम्बन्धनमा चलिरहेका विद्यालयमाथि शिक्षा मन्त्रालयले छानबिन थालेको छ।

भारतको सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेसन (सीबीएसई) को पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका मुलुकभरका १४ वटा विद्यालयलाई कसरी कानुनी दायरामा ल्याउने भन्ने विषयमा छानबिन गर्न शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा समिति गठन गरिएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजनामा सीबीएसईको पाठ्यक्रमअनुसार सञ्चालन भइरहेका विद्यालयलाई कानुनी दायरामा ल्याउने विषयलाई प्राथमिकतामा राखेका छन्। दर्ताबिना चलिरहेका यस्ता विद्यालयलाई पहिलो चरणमा कानुनी दायरामा आउन निर्देशन दिने र निर्देशनअनुसार कानुनी दायरामा नआएमा कारबाही गर्ने सरकारको योजना छ।

मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सम्बन्धित विद्यालयलाई स्थापना गर्ने समयमा दिइएको अनुमति तथा अन्य कागजपत्र हेरेपछि कसरी व्यवस्थापन गर्ने भन्ने निर्णय गरिने बताए। उनका अनुसार सञ्चालन अनुमतिका आधारमा मन्त्रालय आफैंले व्यवस्थापन गर्न सक्ने हो कि मन्त्रिपरिषद्मै प्रस्ताव लैजानुपर्ने हो भन्ने विषयमा अध्ययन गरेपछि मात्र थाहा हुनेछ।

यस्ता विद्यालयलाई विगतमा मन्त्रिपरिषद्ले विशेष निर्णय गरेर सञ्चालन अनुमति दिने गरेको थियो । मन्त्रिपरिषद्ले निर्णय गरेर सञ्चालन भएका हुनाले सम्बन्धित जिल्ला शिक्षा कार्यालय तथा शिक्षा मन्त्रालयले समेत दर्ता प्रक्रियामा ल्याउन सकेका थिएनन्।

विगतमा जिल्ला शिक्षा कार्यालयहरूले समेत आफ्नो क्षेत्रमा सञ्चालन भइरहेका विद्यालयबारे आफूले अनुगमन गर्न नपाएको भन्दै गुनासो गरेका थिए।मन्त्रालयले सीबीएसई बोर्डको विद्यालयलाई कानुनी दायरामा ल्याउने तयारी गरेपछि गत साता नेपालस्थित भारतीय राजदूत रन्जित रे शिक्षा मन्त्रालय पुगेर शिक्षामन्त्री पोखरेललाई भेटेका थिए।

शिक्षा ऐनमा कूटनीतिक नियोगका छोराछोरीलाई पढाउन सम्बन्धित मुलुकको पाठ्यक्रमअनुसार एउटा विद्यालय सञ्चालन गर्न दिइने व्यवस्था छ। अन्नपूर्ण पोष्ट दैनिकमा यो समाचार छ ।

सम्बन्धित शिर्षकहरु