संघीयता गलपासोः उपप्रम चित्रबहादुर केसी

मंसिर ७। बागलुङ, उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सीमाङ्कन हेरफेर गर्ने नाममा तराईका जिल्लालाई पहाडबाट अलग गर्न नसकिने बताएका छन् ।

गल्कोट सेवा समाज बागलुङले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपप्रम केसीले मधेसी दलले तराईका २२ जिल्लालाई अलग्गै राख्न खोजेको आरोप लगाए।

अहिले भएको प्रदेशको सीमाङ्कन नै उचित भएको तर्क राख्दै उपप्रम केसीले आन्दोलनरत मधेसी मोर्चाले राखेको मागअनुसार नयाँ सीमाङ्कन हुन नसक्ने ठोकुवा गरे । “मधेसी दलको प्रमुख माग भनेको सीमाङ्कनबारेमा छ, उनीहरु पहाडबाट छुट्याएर तराईका २२ वटै जिल्ला अलग राख्न चाहन्छन्”– उपप्रम केसीले भने।

आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाले सङ्घीयताको विपक्षमा राखेको मत अहिले आएर सही भएको पुष्टि हुँदै गएको उपप्रम केसीले उल्लेख गरे।

उनले सङ्घीयता नेपालका लागि गलपासो जस्तो बन्दै गएको बताए । संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै उपप्रम केसीले भारतले अनावश्यक रुपमा हस्तक्षेप गरेको बताए । “भारत जहिले पनि नेपालको राजनीतिमा खेल्न चाहन्छ, २००७ सालदेखि नै भारतले नेपालको हरेक क्षेत्रमा नियन्त्रण कायम राख्न खोजेको देखिन्छ”– उपप्रम केसीले भने ।

केसीले राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र स्वाधीनताका लागि कसैसँग सम्झौता नहुने स्पष्ट पारे । उनले आफ्नै कारणले पनि नेपाली विदेशी मुलुकसँग परनिर्भर हुनुपरेको बताए । “हामीमा परनिर्भरता छ, उत्पादनमार्फत राष्ट्रिय पुँजीको विकास नगरेसम्म हामी आत्मनिर्भर रहन सक्दैनौँ, हाम्रो अर्थतन्त्र स्वाधीन हुँदैन”– उपप्रम केसीले भने।

फरक प्रसङ्गमा केसीले दशकौँसम्म प्रतिपक्षमा बसेको पार्टीका तर्फबाट उपप्रधानमन्त्री बन्न पाउँदा आफू फुरुङ्ग नपरेको बताए। आफू मन्त्री हुँदा पनि नहुँदा पनि जनताको चित्रबहादुर केसी रहेको उल्लेख गरे । “जनताको सेवा र हित प्रधान हो, मेरो यो पद गौण हो”– उपप्रम केसीले भने। उपप्रम केसीले आज नै बाग्लुङ चिप्लेटी बसपार्कको पनि उद्घाटन गरे।

उनले जिल्लास्थित सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुखसँग आवश्यक छलफल गरे । शुक्रबार गृहजिल्ला बागलुङ पुगेका उपप्रम केसी सदरमुकामदेखि विभिन्न गाविसमा आयोजित कार्यक्रममा पनि सरिक भएका छन् । उपप्रम केसीलाई उनको जन्मस्थान बाग्लुङको गल्कोटमा अभिनन्दनसमेत गरिएको थियो ।

सम्बन्धित शिर्षकहरु