दशैंको आएन रौनक, छाएन खुसी

downloadसिन्धुपाल्चोक, सिन्धुपाल्चोकका राजेश अर्याललाई यसपालीको दशैं खासै उल्लासमय लागेन । गत वैशाख १२ को विनासकारी भूकम्बाट घर भत्किएका उनले जेनतेन टहरा त निर्माण गरेका थिए । दशैं धुमाधामसँग मनाउने ईच्छा नभएको पनि होइन । तर, दशैंको संघारमै भारतले लगाएको अघोषित नाकाबन्दीको असर उनीहरूलाई निकै नराम्रोसँग पर्यो । इन्धनसँगै यातायात अभावले उनका दाजुभाउजु र अर्का भाइ काठमाडौँबाट गाउँ फर्कन सकेनन्।

यस्तै सिन्धुपाल्चोकको नारायण खतिवडाको दशैं पनि भनेजस्तो भएन। भूकम्पले थिल्थिलो बनाएका उनलाई दशैंको उमंग कसरी छाउन सक्थ्यो र ?! ‘घर बनाउन सकिएको छैन, टहरामा परिवार कोचिएर बसेका छौँ । अन्नपात र जायजेथा घर भत्किएर पुरिहाल्यो, दशैंमा जहानको पेट के खुवाएर भर्ने हो?’ उनले गहभरी आँसु पार्दै भने ।

त्यस्तै थाङपालधापबासी नारायण भट्टराईको पीडा पनि कम दुःखदायी छैन । भूकम्पबाट सिन्धुपाल्चोकका अन्य गाविसमध्ये सर्वाधिक क्षति व्यहोरेको थाङपालधापमा उनको पनि घर नभत्कने कुरै भएन । र त उनी यसपाली धुमधामसँग दशैं मनाउने तयारीमा थिएनन् । ‘सामान्य तरिका टीका टाला गरेर मात्रै दशैं मनायौँ । मार हान्ने र ईष्टमित्रकहाँ टीका लगाउन गएनौँ’ उनले भने ।

यी दुई त प्रतिनिधि पात्र मात्रै हुन्, भूकम्पबाट खण्डहर जस्तै बनेको सिन्धुपाल्चोकमा कतै दशैंको उमंग देखिएन । भत्किएका भग्नावशेषहरू पुनर्निर्माण हुन नस्दा पीडितहरूले गाँस त परै जाओस् वास पनि पाउन सकेका छैनन् । दशैंको पूर्वसन्ध्यामा भारतले लगाएको अघोषित नाकाबन्दीका कारण शहरबाट आफन्त र परिवारका सदस्यहरू गाउँ जान नपाउँदा उनीहरूको दशैं स्वादिष्ट कसरी बन्न सक्थ्यो र?

गाउँमा कतै पिङ मच्चिएको देखिएन । साथै निधारभरी टीका लगाएर आफन्तजन, ईष्टमित्रकहाँ जानेहरूपनि बाटामा भेटिन मुस्किलै हुन्थ्यो । असनेपालन्यूजसँगको कुराकानीमा केही सिन्धुपाल्चोकबासीले, गाउँमा मृत्यु शोक (जुठो) परेको र भूकम्पकाकारण दशैं खुसीसाथ मनाउन नसकिएको बताए । ‘प्रत्येक घरमा मानिस मरेका छन्, यस्तो बेलामा मानिस नमरेका घरका मानिसहरूले पनि कसरी दशैं मनाउनु?’ उनीहरूले भने ।

सरकारले भूकम्पपीडितहरूको पुनर्वासको लागि समयमै काम थाल्न नसक्दापनि पीडितहरूले बासस्थान पाउन नसकेको मात्र होइन उनीहरूको जीवन कष्टकर बनेको र त्यसैको चेपुवामा दशैं परेको उनीहरूको भनाई छ । भूकम्पको पीडा र नाकाबन्दीबाट सिर्जित अभावका कारण यसपटक दशैं खल्लो र नमीठो बन्न पुगेको उनीहरूको भनाई छ ।

सम्बन्धित शिर्षकहरु