दशैंसम्म तातोपानी बन्द !

tankerतातोपानी, भूकम्प पछि बन्द भएको तातोपानी नाका खुलाउन सरकारी पक्षले चासो नदिँदा दशैंसम्म बन्द हुने भएको छ ।

तातोपानी क्षेत्रमा सुख्खा पहिरो नरोकिएका कारण नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानीबाट दशैंका सामान ल्याउन नसकिने अर्थमन्त्रायका राजस्व सचिव नवराज भण्डारीले बताए । ‘चीनले सिन्धुपाल्चोक खासाझैं खतरा भएका कारण नाका सञ्चालनमा नल्याउन भनेको छ’, उनले भने– ‘नाका खुलाउन हामी तयार रहेपनि चिनियाँ तयार नभएका कारण यो नाकाबाट दशैंका सामान ल्याउन नसकिने भएको हो ।

नाका खुलाउन नेपाल सरकार तयार भए पनि चिनियाँ पक्षले केही प्राविधिक समस्या देखाएकाले काम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले तत्कालै सो नाका खुला गर्न सक्ने स्थिति नदेखिएकाले आगामी दसैँका लागि रसुवा नाकाबाट कारोबार अघि बढाउने तयारी भएको जानकारी दिए ।

नाका बन्द हुँदा दैनिक करोडौंको घाटा बेहोरिनु परिरहेको छ । तातोपानी नाका सुचारु नहुँदा हालसम्म २ अर्ब भन्दा बढि घाटा भईसकेको भन्सार प्रमुख दिव्यराज पोखरेलले जानकारी दिए । ‘यसले राजश्व संकलनको सरकारी लक्षलाई प्रत्यक्ष असर पारेको छ’, भन्सार प्रमुख पोखरेलले भने । उनका अनुसार दशैंसम्म नाका सुचारु नगरिने हो भने ७ अर्ब बराबरको घाटा वेहोर्नु पर्नेछ ।

नेपाली बजारमा चिनियाँ सामानको हिस्सा ठूलो छ । अझ दसैंका बेला अत्यावश्यक लुगाकपडा र अन्य सामानका लागि उतैको भर पर्नुपर्ने अवस्था छ । झन्डै डेढ दशकदेखि राजधानीलगायत देशका प्रमुख बजारमा त्यस्ता सामान
तातोपानी हुँदै ल्याइन्थ्यो । महाभूकम्पयता सो नाका बन्द छ ।

तातोपानी चिनियाँ सामान आयात गर्दै आएको प्रमुख व्यापारिक नाका हो । यहा“बाट विद्युतीय सामग्री, तयारी पोसाक, चप्पल, जु्त्ता, खेलौना, फर्निचर, स्टेसनरी सामग्रीलगायत आयात गरिन्छ । निम्न र मध्यम वर्गले चिनियाँ कपडा बढी प्रयोग गर्छन् । तिब्बतसँग सामान साटासाटबाट सुरु भएको व्यापार बढदै गएर हाल दैनिक डेढ करोड राजस्व संकलन हुने तातोपानी भन्सार नौ सातादेखि सुनसान छ । यहाँ बर्सेनि पाँच अर्बभन्दा बढी राजस्व संकलन हुँदै आएको थियो ।

भूकम्पसँगै आएका ठूला–ठूला पहिरोले भन्सार इलाका र सडक भत्काएपछि दुबै नाका बन्द छन् । नाका क्षेत्रमा पहिरो जाने क्रम अझैं बढेको छ । तातोपानीको मितेरी पुलमा क्षती पुगेको भन्दै चिनियाँ पक्षले सवारी साधन आउ–जाउ नै बन्द गरेपछि ल्हासा र खासा गोदाममा दुई अर्बभन्दा बढी मूल्यका सामान अलपत्र अवस्थामा थन्किएका छन् । खासा भन्सारबाट पास गरिएका सयवटाभन्दा बढी कन्टेनर रमिते बजारमा अलपत्र छन् ।

‘सयौं कन्टेनर अझै पनि खासामा अलपत्र परेको छ भन्दै मैले सरकारको ध्यानाकर्र्षण गराएको छु’, सभासद् अमृतकुमार बोहराले भने– ‘तर सरकारले भने चासो दिएको छैन ।’ उनले तातोपानी नाका बन्द हुँदा दैनिक करोडौँको कारोबारमा प्रत्यक्ष प्रभाव परेको समेत बताए । तर, राजस्व सचिव भण्डारीले तातोपानीस्थित नेपालको सीमामा रहेका केही कन्टेनर स्कर्टिङ गरेर ल्याइएको जानकारी दिए । तर, सीमापारी भने अझै ५ सय कन्टेनर रोकिएको उनले बताए ।

‘दसैंअघि तातोपानीबाट सामान आयात हुने सम्भावना देखिँदैन,’ नेपाल हिमाल सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमले भने, ‘अहिलेलाई खासा र ल्हासामा थन्केका सामान भित्¥याउने प्रयासमा छौं ।’ उनका अनुसार ल्हासास्थित वाणिज्य दूतावासमार्फत प्रक्रिया अघि बढाइएको छ । यो सातामै सामान आयात प्रक्रिया सुरु हुने उनले विश्वास व्यक्त गरे । ‘चिनियाँ पक्षले उनीहरुको क्षेत्रमा नोक्सानी भएको सामानको क्षतिपूर्ति दिने सम्भावना पनि छ,’ उनले भने, ‘अन्य नाकाबाट ल्याएर भए पनि दसैंमा सामानको कमी हुन दिँदैनौं ।’

दसैं र जाडोका सामान ल्याउन चिनियाँ बजारमा चार महिनाअघि नै ‘अर्डर’ गर्नुपर्छ । यो नाका अस्तव्यस्त भएपछि व्यापारीहरु समुद्री मार्गबाट आयात गर्नेगरी चीन जान थालेका छन् । उनीहरुले अर्डर गरेको सामान ४० देखि ४५ दिनमा वीरगञ्ज, विराटनगर र भैरहवाबाट नेपाल भित्रिने छ । तातोपानीबाट ल्याउँदा भने दुईसाता भित्र आइपुग्ने गरेको थियो ।

भूकम्प आउनुअघि भन्सार क्षेत्रमा थन्किएका सामान चिनियाँको सहयोगमा बाह्रबिसेसम्मको सडक खुलाएर राजधानी भित्¥याइएको थियो । भन्सार प्रमुख पोखरेलका अनुसार हाल अरनिको राजमार्गको अँधेरीमा अस्थायी चेकपोस्ट राखिएको छ । कर्मचारी धेरैजसो राजधानीमा छन् । ‘तत्काल नाका खुल्ने र काम गर्ने परिस्थिति नभएपछि महत्त्वपूर्ण कागजपत्र राजधानी लगिएको छ,’ उनले भने– ‘विमानस्थलमा यहाँको पनि भन्सार कार्यालय खडा गरिएको छ ।’

तातोपानी नाकाबाट दशैंका सामान ल्याउन नसकिने भएपछि रसुवागढी नाकाबाट सामान भित्¥याउने तयारी भईरहेको छ । झन्डै उत्तिकै खराब भए पनि लागिपर्दा रसुवागढी नाका उपयोग गर्न सकिने रसुवागढी भन्सारका प्रमुख शम्भुबहादुर खड्काले जनाएका छन् । गत वर्ष सिन्धुपाल्चोकको जुरेमा पहिरो जाँदा त्यस्ता सामान रसुवागढी हुँदै ल्याइएको थियो । ‘त्यति बेला सम्भव भएको थियो भने यसपालि पनि ल्याउन नसकिने होइन,’ खड्काले भने– ‘लागिपरे यताको बाटो खुलाउन धेरै गाह्रो छैन ।’

रसुवागढी नाका खोल्ने हो भने खासामा रोकिएका सामान त्यताबाट ल्याउन सकिने प्रमुख खड्काले बताए । तर, चीनतर्फको रसुवागढी–केरुङ २६ किलोमिटर सडक भूकम्पले भत्किएको, मर्मत गरे पनि ढुंगा खस्न नछाडेको भन्दै चीनले नाका खोल्न चाहिरहेको छैन ।

सम्बन्धित शिर्षकहरु