भूकम्प पीडित बालबालिकाहरूलाई शैक्षिक जागरणको यस्तो साथ

असार १९ । जोरपाटी, काठमाडौँको उत्तरपूर्वी क्षेत्रको लोकप्रीय संस्था शैक्षिक जागरण अभियान नेपालले २० जना बालबालिकाहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाएको छ । संस्थाले गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण घर क्षतिग्रस्त भएपछि असाहय बनेका बालबालिकाहरूलाई सहयोग गरेको हो । ति बालबालिकाहरू विद्यालय जानबाट बञ्चित बनेका थिए । सिन्धुपाल्चोकका ति बालबालिकाहरू राजधानीको जोरपाटीमा समाजसेवी गणेश योञ्जनको जग्गामा आश्रय लिएर अस्थायी रूपमा बसोबास गर्दै आएका थिए । उक्त जग्गामा हाल एक सय ५० घर परिवारका मानिसहरू बसोबास गरिरहेका छन् ।

‘विद्यालय जाने उमेरका बालबालिकाहरू पढ्न जान नपाएको हामीले देख्यौँ’ संस्थाका अध्यक्ष सन्तोष सुवेदीले भने ‘उनीहरूलाई सम्येबज्रलिङ हिमालयन समाजले राखेको रहेछ, त्यसपछि संस्थाले उनीहरूको पढाईमा सहयोग पुर्याएको हो । संस्थाले ती विद्यार्थीहरूलाई खगेन्द्र नवजीवन विशेष शिक्षा माविमा भर्ना गरिदिएको छ । विद्यार्थीहरूलाई उक्त स्कूलले पनि शैक्षिक सामाग्रिहरू उपलव्ध गराएर सहयोग गरेको सुवेदीले जानकारी दिए । संस्थाको कार्य प्रशंसनीय भएको भन्दै समाजका महासचिव सुनबहादुर तामाङ र विद्यालयका प्रिन्सिपल राघव दवाडीले पनि खुसी व्यक्त गरेको उनको भनाई छ ।

यसैबीच संस्थाले भूकम्प पीडित, गरीब र बिपन्न युवाहरूलाई लक्षित गरेर तीन महिने आधारभूत कम्प्यूटर तालिमको पनि व्यवस्था गरेको छ । तालिम बैसाख अन्तिम साताबाट सुरु भएको पनि सुवेदीले बताए । संस्थाले यस अघि आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरूलाई छात्रबृत्ति वितरण, समाजको प्रबुद्ध व्यक्तिहरूलाई सम्मान तथा भूकम्प पछि खोज, उद्धार, राहत र पुनःस्थापनामा पनि विशेष भूमिका निर्वाह गरेको थियो।

सम्बन्धित शिर्षकहरु