आफ्नो क्षमता देखाउन अरूको कमजोरी नखोतलौँः प्रत्यासी पंगेनी

आगामी चार जुलाई अर्थात शनिबार एनआरएनए अष्ट्रेलियाको निर्वाचन हुँदैछ । आगामि नेतृत्वका लागि दर्जनौँ उम्मेदवारहरू मैदानमा प्रतिष्पर्धीको रूपमा देखा परेका छन् । त्यस्तै एनआरएन अष्ट्रेलिया आइसीसीको पाँच सदस्य पदका लागि दश जना प्रतिष्पर्धीहरू मैदानमा छन् । त्यही मध्येका हुन्, दिक्पालदेव पंगेनी । आइसीसी मार्फत सञ्चारकर्मीहरुको पेशागत विकास र सञ्चार क्षेत्रबाटै प्रवासी नेपालीहरूको हितका लागि लागिपर्ने पंगेनीका अतिरिक्त योजनाहरू यस्ता छन्ः

एनआरएन अष्ट्रेलियामा मेरो संलग्नताः
एनआरएनप्रति मेरो चासो सन् २००८ बाटै बढेको हो । त्यसो त म अष्ट्रेलिया आए देखिनै सामाजिक गतिविधिहरूमा उत्तिकै सक्रिय रहँदै आएको छु । तीन बर्ष अघिबाट एनआरएन अष्ट्रेलियाको कार्य समिति रहेर काम गर्न थालेको हुँ । त्यसअघि पदमा नरहेर पनि मैले प्रवासी नेपालीहरूको सेवा गरेँ । एनआरएन अष्ट्रेलियामा आवद्ध भए पश्चात निरन्तर रूपमा एनआरएनको संस्थागत विकासका लागि बहस तथा छलफल चलाउँदै आइरहेको छु । सञ्चारकर्मी समेत भएको नाताले एनआरएनको विशुद्ध सामाजिक विकासमा टेवा पुर्याउनु मेरो अहम दायित्व पनि हो ।

संस्थामा राजनीति गर्ने आऔँ तर संस्थालाई नै राजनीति गर्ने थलो नबनाऔँः
पछिल्लो समय एनआरएनमा राजनीति हावी भयो भन्ने गुनासो पनि सुनिन्छ, त्यो केही हदसम्म साँचो पनि होला । तर, हिजो हामी जुन परिवेशबाट आएका थियौँ यहाँ त्यही प्रतिछायाँ देखिनु अस्वभाविक होइन । राजनीति पनि समाजसेवा हो यो पनि समाजसेवा नै हो । यि दुईमा तात्विक भिन्नता पनि छैन । तर, नेपालको राजनीतिसँग यसले सरोकार राख्नु भएन । भेडा भेडा तिर, बाख्रा बाख्रा तिर त अवश्य नै हुन्छ । यसमा मेरो अर्को मान्यता म के छ भने यहाँ राजनीति गर्नेहरू आउनै नहुने भन्ने होइन तर संस्थामा प्रवेश गरिसकेपछि संस्थाको काम गर्नुपर्दछ । राजनीतिक आग्रह, पुर्वाग्रह र दूराग्रहबाट टाढा रहनु पर्दछ ।

यसकारण मलाई भोटः
म  सामाजिक कार्यकर्ता हुँ । आफ्नो क्षमता समाजको हित अनुकुल उपयोग गर्छु । व्यक्तिगत कामबाट बँचेको समय समाजका लागि छुट्याउन चाहन्छु । प्रवासी दाजुभाइ तथा दिदीबहिनीहरूका लागि दिन चाहन्छु । उनीहरूको अधिकारको पैरवी गर्न चाहन्छु । यसकारण म अझै मेरो क्षमता प्रदर्शन गर्न चाहन्छु ।
मेरो स्पष्ट बिचार के छ भने निर्वाचनको सन्दर्भमा मैले मेरो क्षमता देखाउने हो, अरुको कमजोरी उत्खनन् गर्ने होइन । मेरो समाजप्रतिको दायित्व अरुभन्दा बढी छ भन्ने कुरा पहिला आफैँलाई अनुभुत हुनु पर्दछ ।

अर्को म पत्रकार पनि हुँ । पत्रकार भएको नाताले समाज र राष्ट्रप्रति मेरो अरूको भन्दा भिन्न दायित्व हुन्छ । कतिपय सन्दर्भमा पेशागत धर्म निभाउँदा मैले संस्था भित्रका कुराहरूका विषयमा पनि बहस चलाउनु पर्ने हुनसक्छ । त्यसमा पनि म आफ्नो पेशागत धर्म र संस्थागत कर्मप्रति विचलित हुने छैन ।

आज ४० लाख नेपालीहरू मुलुकबाहिर छन् । ती सवैलाई अन्तर्राष्ट्रिय मिडिया सञ्जालसँग जोड्नु अनिवार्य जस्तै भइसकेको छ । विश्वभरका पत्रकारहरूकाबीचमा समन्वय र सञ्जाल स्थापित गर्न पनि मेरो भूमिका महत्वपूर्ण रहन्छ ।

एनआरएनको संस्थागत विकासः
प्रवासी नेपालीहरूमा एनआरएन मेरो संस्था हो भन्ने भावनाको विकास गराउनु पर्दछ । त्यसका लागि योग्यतम मानिसहरू नेतृत्वमा पुग्नु पर्दछ । यो राष्ट्र निर्माणका बेला पनि हो । हामी सवैले सवैलाई मुलुक निर्माणका लागि आह्वान पनि गर्नु पर्नेछ । बढी भन्दा बढी लगानी भित्र्याउने सम्भावनाहरूको खोजी पनि गर्नु पर्नेछ । त्यसकारण यो इन्टायर मुभमेन्टमा मलाई एक मौका दिनुहोस् यसको प्रतिफल एनआरएनले पाउँछ ।

सम्बन्धित शिर्षकहरु