समाजशास्त्र र मानवशास्त्र विषयका विभाग अब छुट्टै हुने

असार १५ । काठमाडौँ,त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र र मानवशास्त्र विषय अबदेखि छुट्टाछुट्टै विभागमा रहने भएका छन् । हाल सम्म एउटै विभागमा रहेका यी दुई विषयलाई छुट्टाछुट्टै विभागमा राख्न आवश्यक छ की छैन भन्नेबारेमा अध्ययन गर्न गठित कार्यदलले विभाग छुट्याउन सुझाव दिएपछि सामाजिक शास्त्र सङ्कायअन्तर्गत रहेको समाजशास्त्र तथा मानवशास्त्र विभाग छुट्टै हुने भएको हो ।

कार्यदलका सदस्य डा.चिरञ्जीवी आचार्यले सरोकारवालासँग गरेको छलफलमा सबैले छुट्याउनुपर्ने सुझाव दिएको जानकारी दिनु भयो । “अध्ययनका क्रममा समाजशास्त्र र मानवशास्त्र दुवै विषयका विज्ञ, प्राध्यापक, पूर्वप्राध्यापक, केन्द्रीय विभागका पदाधिकारी, सबै तहका विद्यार्थी,विद्यार्थी तथा प्रधानाध्यापकका सङ्घ सङ्गठनलगायतसँग गरेको छलफलमा सबैको सहमति भएपछि गर्यौँ,उहाले भन्नु भयो, एक जनाले पनि सँगै राख्नुपर्छ भन्नु भएन, त्यसैले सतप्रतिशत मत छुट्याउनु पर्छ भन्ने पायौँ ।”

एकै विभागमा राख्दा विषयगत प्राज्ञिक उन्नयनका लागि बाधा पुगेको सबैको ठहर रहेकाले छुट्याउनुपर्ने सिफारिससहितको प्रतिवेदन विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेलाई दिएको डा. आचार्यले बताउनु भयो ।
शिक्षाध्यक्ष न्यौपानेले कार्यदलको सिफारिसलाई आफूले प्रक्रियामा लैजाने जानकारी दिनु भयो ।

समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डा. ओम गुरुङले पनि कार्यदलले पेस गरेको प्रतिवेदन अब कार्यकारिणी सभाबाट पारित भएर कार्यान्वयन हुने बताउनु भयो ।
विद्या परिषद्ले पारित गरेपछि सुझाव सङ्कलन तथा अध्ययनका लागि प्राध्यापक लयप्रसाद उप्रेतीको संयोजकत्वमा कार्यदल बनाइएको हो ।

सम्बन्धित शिर्षकहरु