फिफाको अध्यक्षमा पाँचौ पटक सेफ ब्लाटर

जेठ १६ । एजेन्सी,सेफ ब्लाटर विश्व फुटबल महासंघ फिफाको अध्यक्षमा पाँचौ पटक चुनिएका छन्। स्वीटजरल्यान्डको ज्यूरिचमा शुक्रबार राति भएको वार्षिक बैठकमा प्रतिस्पर्धी जोर्डनका राजकुमार अली बिन हसनले नाम फिर्ता लिएपछि ब्लाटर निर्विरोध नयाँ कार्यकालका लागि पुनः अध्यक्षमा चुनिएका हुन् ।

१९९८ देखि लगातार फिफाका अध्यक्ष बनेका ब्लाटरको यो पाँचौ कार्यकाल हो। पहिलो राउन्डमा १३३ भोट पाएका ब्लाटर र ७३ भोट पाएका राजकुमार अलीको दुई तिहाई बहुमत निर्वाचन नआएपछि दोस्रो राउन्डमा गएको थियो। दोस्रो राउन्डको भोटिङमा राजकुमार अलीले नाम फिर्ता लिएपछि ब्लाटर निर्विरोध विजयी भए।

यो विजयसँगै ब्लाटरले आफूमाथि लागेका भ्रष्टाचार र अनियमितताका आरोपको खण्डन र आफ्ना विरोधीहरुको मुख थुन्न सफल भएका हुन्। यसैबीच ब्लाटरले अर्को कार्यकाल निर्वाचित भइरहँदा युरोपियन फुटबलका प्रमुख मिचेल प्लाटिनीबाट कडा धम्की बेहोर्नुपरेको छ। युरोपियन राष्ट्रले विश्वकप नै बहिष्कार गर्नेसम्मका चेतावनी दिएका छन्।

उनले आगामी चार वर्ष फिफाको नेतृत्व गर्नेछन्। यसैबीच निर्वाचनअघि ब्लाटरलाई अमेरिकासँगको मिलेमतोमा आफूविरुद्ध उभिएका उपाध्यक्षसहित दक्षिण अमेरिकन फुटबलका पदाधिकारी तथा फिफाका सदस्यहरुलार्इ नियोजितरुपमा पक्राउ गरी फसाएको आरोप लागेको छ।

सम्बन्धित शिर्षकहरु