बयरवन गाविस पूर्ण खोप घोषणा

जेठ १४ । मोरङ मोरङको बयरवन गाविस बुधबारदेखि पूर्ण खोप गाविस घोषणा गरिएको छ ।

गाविस बयरवन, जिल्ला स्वास्थ्य कार्यालय मोरङ तथा बयरवन स्वास्थ्य चौकीको आयोजनामा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

सबै किसिमका रोगविरुद्ध बालबालिकाका लागि लगाइने खोप पूरा गरेपछि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

गाविस पूर्ण खोप घोषणा गर्न पुग्नुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ७ का सभासद् चिकित्सक शेखर कोइरालाले बालबालिकाको सबै खोप पाउनु अधिकार रहेकाले कसैलाई पनि खोपबाट वञ्चित गर्न नहुने बताउनुभयो ।

बालबालिकाका लागि नभई नहुने बिसिजी, डिपिटी, हेब्बी, हिब, पोलियो तथा दादुराविरुद्धको खोप अनिवार्य गरिएको छ । यी खोपको मात्रा पूरा गरेपछि गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

गाविसमा रहेको १२ देखि २३ महिनाका ४०९ जना बालबालिकालाई खोपको मात्रा पूर्ण गरिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख भानु याङ्देनले बताउनुभयो ।

यो वर्षभित्र ३५१ जनालाई खोप दिइने स्वास्थ्य चौकी बयरवनले जनाएको छ । कार्यालयका अनुसार आगामी वर्षमा ४२५ जना बालबालिकालाई खोप दिइने लक्ष्य राखिएको छ ।

पूर्ण खोप घोषणा कार्यक्रममा मोरङका स्थानीय विकास अधिकारी नारायण मैनाली, क्षेत्रीय स्वास्थ्य निर्देशनालय क्षेत्रीय निर्देशकको समेत उपस्थिति रहेको थियो । कार्यक्रम गाविस सचिव हरिप्रसाद सुवेदीको सभापतित्वमा भएको थियो । रासस

सम्बन्धित शिर्षकहरु