एमाओवादी उपाध्यक्ष नारायणकाजीलाई सडक सुरक्षा अवार्ड

narayana kajiकाठमाडौं,सार्वजनिक सवारी साधनको सदुपयोग गर्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘नेसनल रोड सेफ्टी अवार्ड’ बाट सम्मानित हुनुभएको छ । देशको उच्च पदमा पुगेर पनि सार्वजनिक सवारी साधनको प्रयोग गर्दै अरु उच्च ओहोदामा रहने व्यक्तिले यातायाते क्षेत्रमा ल्याएका विकृती अन्त्यका लागि प्रभावकारी भूमिका खेलेकोमा उहाँले बिहिबार यस्तो सम्मान पाउनु भएको हो । राजधानीमा बहिबारबाट शुरु भएको एफआइए स्पोर्ट रिजनल कंग्रेसमा एक कार्यक्रमबीच श्रेष्ठलाई सम्मान गरिएको हो ।

श्रेष्ठले आफुले सार्वजनिक यातायात क्षेत्रलाई सुधारका लागि केही कार्य मात्र गरेको र यो क्षेत्रमा गर्नुपर्ने सबै आहोदाका मानिस मिलेर धेरै सुधार कार्य गर्नु पर्ने धारणा राख्नु भयो । उहाले आफुले अवार्डको रुपमा प्राप्त गरेको ११ हजार १ सय ११ रुपैया हेटौंडादेखि काठमाडौंसम्म बोकेर ल्याउने जीवित ब्यक्ति मध्येका धन बहादुर गोलेलाई हस्तान्तरण गर्नु भयो । राजधानीमा काठमाडौंमा पहिलोपटक गाडी भित्रिदा हेटौंडादेखि काठमाडौंसम्म बोकेर ल्याउने जीवित ब्यक्तिमध्येका एक गोलेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । उक्त अवसरमा नेपालमा पहिलो पटक सवारी चालक अनुमति पत्र प्राप्त गर्ने महिला मच्छरीदेवी चित्रकार र गोलेलाई उपराष्ट्रपति परमानन्द झा र अन्यले सम्मान गरेका थिए ।
एसिया प्यासिफिक क्षेत्रका १४ देशका प्रतिनिधिको सहभागिता रहेको कंग्रेसलाई उपराष्ट्रपति झाले उद्घाटन गर्नु भयो । उद्घाटन समारोहमा उपराष्ट्रपति झाले नेपालमा मोटर स्पोर्ट्स पनि एउटा खेलको रुपमा विकास हुँदै गरेको र यस मार्फत सडक सुरक्षाको सन्देश समेत फैलाउन सहयोग पुगेको धारणा राख्नु भयो ।
उक्त अवसरमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सरकारले मोटर स्पोर्ट्स र सडक सुरक्षाका लागि धेरै कार्य गर्ने योजना बनाएको र त्यसैको एउटा अंगका रुपमा नेपाल, भारत र चीनका बीचमा त्रिदेशीय तथा दक्षिण एसियाका विभिन्न देशका गरी ट्रान्स हिमालयन र्यालीको योजना बनाएको बताउनु भयो ।
एफआइएका अध्यक्ष जन टडले नेपालमा एसिया प्यासिफिक रिजनल कंग्रेसको आयोजना गर्न पाएकोमा खुसी ब्यक्त गर्दै नेपाल पनि सडक दुर्घटना हुने धेरै देश मध्ये एकमा पर्ने भएकाले यो कंग्रेसले सडक सुरक्षाका वारेमा समेत केही कार्य गर्न सरकार र सबै सरोकारवालालाई सहयोग पुग्ने बताउनु भयो ।
ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योहले बिश्वमा सडक दुर्घटनाका कारण प्रत्येक दिन ५ सय बालबालिकाको मृत्यु भइरहेको सन्दर्भ उल्लेख गर्दै संयुक्त राष्ट्र संघले प्रत्येक बर्ष मनाउदै आइरहेको युएन ग्लोबल रोड सेफ्टी विक नेपालमा समेत भव्य रुपमा मनाउनका लागि सबैलाई आग्रह गनु भयो ।
एफआइएका अध्यक्ष जन टड तथा ग्लोबल रोड सेफ्टी एम्बेसडर मिचेल योह विशेष अतिथिको रुपमा उपस्थित रहेको उक्त कंग्रेसमा सबै गरी लगभग ४३ जना सहभागी, १० जना नासा पदाधिकारी, १० जना व्यवस्थापक, ५ जना प्राविधिक तथा ७ जना सचिवालय सदस्य गरी जम्मा ७५ जनाको सहभागिता रहेको छ । नासाले यही अवसरमा पुराना भिन्टेज गाडीको प्रदर्शनी गर्नुका साथै सवारी साधन प्रशिक्षणका लागि आवश्यक सिमुलेटर समेत प्रदर्शनीका लागि राखेको छ ।

सम्बन्धित शिर्षकहरु