विगतका सम्झौता अनुसार संविधान बन्नु पर्छ :मधेसी मोर्चा

काठमाडौँ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगतका सहमति तथा सम्झौतालाई केन्द्रविन्दुमा राखेर संविधान निर्माण हुनुपर्ने साझा अवधारणा सार्वजनिक गरेको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने मधेस केन्द्रित ६ राजनीतिक दलले मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको संयुक्त बैठकले संविधान निर्माण नहुँदासम्म कुनै पनि मधेसवादी दल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

संविधान निर्माणको आधार सहमति भएको मोर्चाले ठहर गरेको मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिनुभयो ।

आइतबार सार्वजनिक अवधारणामा मोर्चाको नेतृत्व पालैपालो गर्ने, आवश्यकताअनुसार सचिवालय, विभिन्न समिति गठन गर्ने, मोर्चालाई जिल्ला बिस्तार गर्ने रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान जारी हुनुपर्नेमा समेत जोड दिइएको अध्यक्ष गच्छदारको भनाइ छ ।

तराई मधेसमा दुई प्रदेश हुनुपर्ने, महिला, दलित, जनजाति, आदिवासी, मधेसी र अल्पसङ्ख्यक तथा पिछडिएका क्षेत्रको उचित प्रतिनिधित्व गराउनेगरी निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा समेत जोड दिइएको सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिनुभयो ।

मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी रहेका छन् ।
मोर्चामा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) र सङ्घीय सद्भावना पाटीलाई समेत सहभागी गराइने जानकारी दिइएको छ ।

 

सम्बन्धित शिर्षकहरु