सार्क सम्मेलनका पाहुनालाई रक्सीमा बिशेष छुट !

काठमाडौं : सार्क सम्मेलनमा आउने  विशिष्ट पाहुना र राजधानीस्थित कूटनीतिक नियोगका अधिकारीलाई उच्चस्तरका मदिरा खरिदमा सरकारले १५ प्रतिशत छुट दिन लागेको हो।

नेसनल ट्रेडिङ लिमिटेडले विशिष्ट पाहुनाका हिजो देखि लागु हुनेगरी आगामी सोमबारसम्म यो छुटको व्यवस्था गरेको छ। नेसनल ट्रेडिङले यस्तो सुविधा रामशाहपथस्थित ‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मार्फत उपलब्ध गराउनेछ। पाहुनालाई मदिराको अभाव हुन नदिन उनीहरूले बढी रुचाएका र महँगा विभिन्न ब्रान्डका मदिरा मगाइएको छ। विशिष्ट पाहुनाका लागि खाडी मुलुक दुबईबाट उच्चस्तरका मदिरा ‘अर्डर’ गरिएको ट्रेडिङ स्रोतले बताएको छ ।

यसका लागि दुबईबाट प्रतिदिन एउटा प्लेनमा ३० भन्दा बढी मदिराको क्रेट ल्याउन लागिएको छ। एउटा क्रेटमा १२ वटा बोतल हुन्छन्।

नेसनल ट्रेडिङले दुबईबाट रेड लेबल, ब्ल्याक लेबल, ब्लु लेबल, याट ६९, १०० पाइपर, ह्याकी बेनिस्टर, लर्डस किंगलेज, टिचर्स, लिजन भि सप, ब्लाइन्टाइन, सिग्नेचरसहित ब्रान्डी, वाइन र भोड्का मगाउन लागेको हो।
‘बन्डेड वेयर हाउस तथा ड्युटी फ्री सप सेन्टर’ मा अहिले यस्ता ब्रान्डसहित केही अन्य ब्रान्डका करिब आठ करोड मूल्यबराबरको मदिरा मौज्दात छ।

नेसनलले साबिकबमोजिमकै प्रक्रियाअनुसार यस्ता मदिरा बिक्री गर्ने जनाएको छ। अहिलेसम्मको प्रक्रियाअनुसार कूटनीतिक नियोगले परराष्ट्र मन्त्रालयमा मदिरा उपलब्ध गराइदिन पत्राचार गर्छन्। परराष्ट्र मन्त्रालयले उक्त पत्र आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाउँछ। भन्सारले कागजपत्र हेरेर नेसनल ट्रेडिङलाई सिफारिस गरेपछि कूटनीतिक नियोगले चाहेअनुसारको परिमाणमा ड्युटी फ्री सुविधाअन्तर्गतको मदिरा खरिद गर्न पाउँछन्।

 

सम्बन्धित शिर्षकहरु