बन्द उद्योग खुलाउने मन्त्री बस्नेतको प्रतिबद्दता

असोज १३ ।भक्तपुर,उद्योगमन्त्री महेश बस्नेतले विभिन्न समय र घटनाका कारण बन्द भएका वीरगन्ज चिनी कारखाना, नेपाल औषधि लिमिटेड र गोरखकाली रबर उद्योग खुलाउने प्रतिबद्दता जनाउनु भएको छ ।

कैलाशमार्ग टोल सुधार समिति थिमिले सिद्धार्थ विद्यापीठ गठ्ठाघरमा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले बन्द उद्योग सञ्चालन गर्न अर्थ मन्त्रालयले बजेट नदिए पनि केही महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भयो ।

रु ११ करोड बराबरको सेयर किनेर बन्द भएको नेपाल औषधि लिमिटेडको सेयरका लागि युवालाई सहभागी गराइने बताउँदै उहाँले नेपाली उद्योगको जर्जर अवस्थालाई उकास्ने र नयाँ उद्योग थप्ने काम जबसम्म हुँदैन तबसम्म देशको आर्थिक अवस्थामा सुधार आउन नसक्ने धारणा राख्नु भयो ।

औद्योगिक व्यवस्थापन ऐन, वैदेशिक नीति ऐन, बौद्धिक सम्पत्ति संरक्षण ऐनलगायत नौ वटा ऐन तत्काल बनाउन र सुधार्न आवश्यक रहेको उहाँले औल्याउनु भयो ।

स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न पाल्पाली ढाकालगायत नेपाली खाडीका लुगालाई प्राथमिकता दिन हरसम्भव प्रयास गरिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु