सीप परीक्षणमा नेपाली कामदार अयोग्य, ५ सय कामदार जापान जान नपाउने

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षण गन्तव्य मानिएको जापानमा पहिलो चरणमा नेपाली श्रमिक जान नपाउने भएका छन् । पहिलो चरणमा जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षामा सबै अनुत्तीर्ण भएपछि जान नपाउने भएका हुन । भाषा परीक्षामा भने एक जना पास भएका छन् ।

भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए भने ‘लक्की ड्र’मार्फत एक हजार जना छनोटमा परेका थिए । तीमध्ये पहिलो चरणको सामान्य भाषा परीक्षामा ५०९ जना छनोटमा ४९७ जना परीक्षामा सहभागी भएका थिए । जसमा ५६ जना मात्र उत्तीर्ण भए ।

उत्तीर्ण भएकामध्ये पहिलो चरणमा नर्सिङ भाषा परीक्षामा १२ जना र सीप परीक्षणमा १५ जना सहभागी भएका थिए तर भाषा परीक्षामा एक जना मात्र उत्तीर्ण भए भने सीप परीषाम सबै असफल भएका थिए ।

जापान सरकार र नेपाल सरकारबीच गएको चैत ११ गते जापानी नागरिकसरहको सेवा सुविधा दिएर जापान नेपाली श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको थियो । जापानले नेपाल, चीन, इन्डोनेसियालगायतका नौ देशका युवा श्रमिकलाई रोजगारको अवसर दिने गरी सुरु गरेको थियो ।

कोरियापछि सुरक्षित र आकर्षण आम्दानी हुने देशमा जापान पर्ने दाबी श्रम मन्त्रालयले गरेको छ । पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकामा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु