अष्ट्रेलियामा पिआरको कारण चिन्तित नेपाली युवतीद्वारा श्रीमानको हत्या

अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलको ब्ल्याकसेल स्ट्रिटमा शनिबार राति एक नेपाली युवाको हत्या भएको छ। ग्रानभिलमा वर्कसप चलाइरहेका सन्तोष गौतमको पारिवारिक झगडा हुँदा श्रीमानमाथि धारिलो हतियार प्रयोग गरेर श्रीमतीले हत्या गरेकी हुन् ।

पुलिसले शनिबार राती ग्रानभिल स्थित उनीहरुको घरमा ३४ वर्षे सन्तोषलाई गहिरो चोट लागेको अवस्थामा भेटेको अष्ट्रेलियाको सञ्चार माध्यमहरुले जनाएका छन् ।

रिपोर्टमा बताइए अनुसार सन्तोषले वेस्टमेड अस्पतालमा अन्तिम सास फेरे । ३४ वर्षे नुमा गौतमलाई श्रीमानको हत्याको आरोप लागेको छ । रिपोर्टमा बताइए अनुसार नुमाले आफ्नो श्रीमानलाई एकपटक काँधमा चक्कुले प्रहार गरेकी थिइन् । उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ ।

नुमालाई प्रहरीको निगरानीमा वेस्टमेड अस्पतालमा सामान्य उपचारका लागि लगिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई ग्रान्डभिल पुलिस स्टेशन पुर्‍याइएको छ ।

घटनाको केही घण्टा अघि गौतमलाई नजिकैको टायर पसलबाट श्रीमती र ८ वर्षे छोरी भएको घरमा फिर्ता भइरहेको सिसिटीभी क्यामरामा देख्न सकिन्छ ।

प्रहरीले आइतबार बिहानै पारामाटास्थित अदालतमा आरोपित महिलालाई जमानतको सुनुवाइ लागि लगेको थियो जहाँ उनको जमानत अस्वीकार गरिएको थियो। आगामी बिहीबार नोभेम्बर २८ तारिख उनको मुद्दाको अर्को सुनुवाइ पारामाटाको स्थानीय अदालतमा हुने भएको छ।

सन्तोष स्थानीय क्रिकेट क्लबबाट क्रिकेट खेल्ने गर्दथे। सन्तोषको परिवार र अर्को एक जोडी केही समयदेखि सो घरमा बस्दै आएका थिए । उनले सिड्नीको टेफ कलेजबाट अटोमोटिभ विषयमा पढाइ सकेपछि वर्कशप चलाएका थिए।

परिवार र आफन्तले यो जोडी केही महिना अघिदेखि आफ्नो भिसाका कारण चिन्तित भएको बताए । अष्ट्रेलियामा थप बस्न पाउने हो होइन भनेर यी दुई चिन्तित भएको रिपोर्टमा उल्लेख छ ।

स्थानीय नेपाली समुदायले उनीहरुको छोरीको जिम्मा लिने वचन दिएको छ । डेली मेलका अनुसार गौतम नेपाली क्रिकेट संघका सदस्य पनि थिए । उक्त संघले आइतबार आयोजना हुन लागेको आफ्नो ए–ग्रेड म्याच पनि रद्द गरेको बताएको छ ।

पिआरका लागि अन्तिम तयारी गरिरहेका यी दम्पति, किन यस्तो अवस्थामा पुगे भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो समय अष्ट्रेलियाको नेपाली समाजमा घरेलु हिंसा प्रमुख समस्या बनिरहेको छ। काम र पढाईको तनाव र कम उमेरमै बिवाह गरेर अष्ट्रेलिया आउदा घरेलु हिंसाले प्रयास पाएको छ।

सम्बन्धित शिर्षकहरु