निवर्तमान सभामुख महरालाई किन पठाइयो जेल ? अदालतले खुलायो यस्तो कारण

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको अभियोगमा प्रतिनिधिसभाका तात्कालिन सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आज भएको थुनछेक बहसपछि महरालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो ।

अदालतको उक्त आदेशसँगै महरा डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार आनन्दप्रसाद श्रेष्ठले अदालतको आदेशअनुसार डिल्लीबराज कारागार चलान गरिएको बताउनु भयो । संसद सचिवालयकी कर्मचारी शाहीले गत असोज १२ गते साँझ महराले आफ्नो कोठामा आइ बलात्कार र कुटपिट गरेको बयान सोही राती प्रहरी र भोलिपल्ट एक अनलाइनमार्फत सार्वजनिक गरेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । महरा परिवारको दवावमा भोलिपल्टै पीडित शाहीको बयान फेर्न लगाए पनि पुनः किटानी जाहेरी दिएपछि असोज १९ गते सभामुख निवासबाटै पक्राउ गरिएको थियो ।

बलात्कारको आरोप लागेपछि महरालाई गत असोज १९ गते जिल्ला अदालत काठमाडौंले पक्राउका लागि प्रहरीलाई अनुमति दिएको थियो । अनुमति पाएसँगै प्रहरीले महरालाई सोही दिन बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । पक्राउपछि महरा सिंहदरबार वृत्तमा प्रहरी हिरासतमा रहेपनि नर्भिक अस्पतालमा बसेका थिए । पक्राउ परेको केही दिनमै स्वास्थ्य अवस्था बिग्रिएपछि केही दिनयता महरा नर्भिक अस्पतालमा उपचाररत रहेका थिए । गत मंगलबार अस्पतालबाटै उनलाई सरकारी वकिलको कार्यालय लगेर थुनछेक बहस गरेपछि म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो ।

अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्नाको कारण पनि खुलाएको छ ।
आदेश सम्बन्धमा जानकारी दिँदै जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले भने– ‘अभियोग प्रमाणित भएको अवस्थामा कानूनबमोजिम निज प्रतिवादीलाई हुनसक्ने सजायको मात्रा तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ मा भएको कानूनी व्यवस्था समेतको आधारमा पछि प्रमाण पुग्दै जाँदा ठहरेबमोजिम हुनेगरी हाल निज प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु