आइसिसीद्वारा क्यानमाथिको निलम्बन फुकुवा

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सोमबार नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता निलम्बन फुकुवा गरेको छ। दुबईमा सम्पन्न आईसीसी बोर्ड बैठकले ससर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। ‘सरकारी हस्तक्षेप र निस्पक्ष र स्वतन्त्र चुनाब नगरी आईसीसीको नियम उल्लंघन गरेपछी २०१६मा भएको क्यानको सदस्यता निलम्बन ससर्त पुनर्स्थापित भएको छ,’ आईसीसीले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘यहि महिनाको सुरूमै १७ सदस्यीय केन्द्रिय कार्यसमिति चयनसंगै क्यानको सदस्यता पुनर्स्थापित गर्ने बाटो खुलेको हो।’ काठमाडौंमा गत असोज १० र ११ सम्पन्न साधारण सभाले चतुरबहादुर चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

आईसीसीका अध्यक्ष शशांक मनोहरले नेपालको प्रगतिलाई ध्यानमा राख्दै आगामी योजना अघि बढने बताएका छन् । ‘नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब नेपाल क्रिकेट संघको एसोसिएट सदस्यता मापदण्डको पूर्ण अनुपालन गर्न सहयोग गर्ने एउटा संक्रमण योजना तयार गरिनेछ,’ मनोहरले भनेका छन्, ‘जसमा नियन्त्रित कोष पनि समावेश हुनेछ।’

साढे तीन बर्ष अघि चन्दकै अध्यक्षता निर्वाचित क्यानलाई तत्कालीन राखेप सदस्य सचीव केशवकुमार बिष्टले मान्यता नदिएर तदर्थ समिति बनेपछि क्रीकेटको विवाद चर्किएको थियो। क्यान विवाद सर्बोच्चअदालतमा पुगेको थियो। पछि आईसीसीले सरकारी हस्तक्षेप तथा स्वतन्त्र र निस्पक्ष चुनाव नभएको भन्दै क्यानको सदस्यता निलम्बन गरिदिएको थियो।

त्यसयता आईसीसीको प्रत्यक्ष रूपमा नेपाली क्रीकेट टोली हेर्दै आएको थियो। नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले सल्लाहकार समिति बनाएर क्यानको नयाँ विधान तयार गरेको थियो।

आइसीसीको रोहबरमा बनेको विधानलाई निर्वाचित क्यानको बिशेष साधारणसभाले हुबहु पारित गरेको थियो। त्यही बिधान अनुसार स्वतन्त्र समुहले जिल्ला, प्रदेशहुँदै केन्द्रसम्म नयाँ कार्यसमिति चयन गरेको थियो।

आइसीसीले जिम्बावेको पनि सदस्यता पुनर्स्थापित गरेको छ। यससंगै जिम्बावेले आईसीसी यू-१९ बिश्वकप र २०२० पछि आईसीसी सुपर लिग खेल्न पाउने भएको छ।

आईसीसीले महिला क्रीकेट बिश्वकपको पुरस्कार राशी पनि वृद्धि गरेको छ। आईसीसीले महिला बिश्वकपको पुरस्कार राशिमा २ लाख ६० हजार अमेरिकी डलर बढाएको हो। अर्को बर्ष अस्ट्रेलियामा हुने महिला बिश्वकपमा अब विजेताले १० लाख पाउछ भने उपबिजेताले ५ लाख अमेरिकी डलर पुरस्कार पाउछ।

Comments

comments

सम्बन्धित शिर्षकहरु