एनआरएनए विश्व सम्मेलन: तयारी अस्तव्यस्त,प्रविधिको जमानामा नामदर्ता गराउन पुरानो शैली,लाइन अव्यवस्थित

एनआरएनए विश्व सम्मेलन: तयारी अस्तव्यस्त,पत्रकार सम्मेलनमा पत्रकार भन्दा गैरपत्रकारको प्रश्नको वर्षा
काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा भोलिदेखि सुरु हुने भएको छ । यसपटक संघको नेतृत्वको लागि कडा प्रतिष्पर्धा हुने देखिएको छ । वर्तमान उपाध्यद्धय कुमार पन्त र कुल आचार्यले अध्यक्षको लागि उम्मेद्धवारी दिने घोषणा गरिसक्नुभएको छ । त्यस्तै यस महाधिवेशनमा ४२ जना उम्मेदवारहरु विजयी बन्ने निर्वाचन समितिले जनाएको छ ।

संघको अध्यक्षमा एक जना, उपाध्यक्षमा ५ जना (एक महिलासहित), महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सह–कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १-१ जना निर्वाचित हुनेछन् । प्रत्येक क्षेत्रीय समितिबाट एक–एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यस पटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने भएका छन् ।

विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २–२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १-१ जना क्षेत्रीय उपसंयोजकमा निर्बाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १-१ जनाका दरले ६-६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने समितिले जनाएको छ ।

एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै नेतृत्वको आलोचना गरेका छन् ।

सोभन्दा बढी विवाद मतदाता नामावली दर्ताका क्रममा देखिएको छ ।

एनआरएनले राष्ट्रिय समन्वय परिषद्मार्फत टुङ्गो लगाएर ल्याएको नामावली केन्द्रमा आइसकेपछि फेरबदल भएको भन्दै सम्बन्धित देशका अधिकारीले विरोध जनाएका हुन् । विशेषगरी अमेरिका, बेलायतलगायतका देशमा प्रतिनिधि फेरबदल भएको उनीहरुको गुनासो छ ।

एनआरएनए निर्वाचन कमिटीले अक्टोबर १० देखि १४ (आज) सम्मका लागि नामावली दर्ताको लागि समय तोकेको थियो । तर आजसम्म आइपुग्दा दर्ता प्रक्रिया १५ सयको भन्दा सकिएको छैन । एनआरएन महासचिव डा. बद्री केसीले सोमबारसम्म १५ सय प्रतिनिधिले नामावली दर्ता गराएको भन्दै आज अवेरसम्ममा २५ सय हाराहारीमा नामावली दर्ता भइसक्ने जानकारी दिए ।

 

आफ्नो मताधिकार प्रयोग गर्नका लागि विश्वभरबाट चयन भएर आएका मतदाताले फेरि केन्द्रमा अन्तिम पटक नाम दर्ता गराउनुपर्ने हुन्छ । तर, सुरुका तीन दिनमा उत्साहजनक दर्ता प्रक्रियामा सहभागिता नजनाउँदा र आजैमात्रै दर्ता गराउनेको चाप हुँदा एनआरएनए परिसरमा चर्काचर्कीसमेत सुन्न पाइन्छ ।

एनआरएन मतदाता विश्व पुडासैनीले बिहान ९ बजेदेखि लाइन बस्दा दिउँसो साढे ३ बजे मात्र आफ्नो पालो आएको बताए । उनले प्रविधिको जमानामा पनि अनावश्यक झन्झट र सास्ती बेहोर्नु परेको भन्दै असन्तुष्टि जनाए । उनी जस्तै धेरै एनआरएनए मतदाता नेतृत्वले मनपरी गरेको, प्रविधिको जमानामा पनि पुरानो शैली अपनाएको, लाइन अव्यवस्थित बनाएको आरोप लगाएका थिए । सोही विषयलाई लिएर एनआरएनए परिसरमा अभियान्ताहरुबीच पटक–पटक चर्काचर्की भएको थियो ।

यता महासचिव केसीले भने अनलाइन प्रक्रियामार्फत नाम दर्ता गर्ने पहल थालिएपनि विविध कारणले सफल हुन नसकेको भन्दै आगामी दिनमा यसलाई कार्यान्वयन गर्न पहल गरिने बताए । नेपालीको संस्कार नै समयमा काम नगर्ने र अन्तिम समयमा पूरा गर्ने संस्कार जस्तै भएको भन्दै उनले यो संस्कार नाम दर्ता प्रक्रियामा पनि देखिएको बताए ।

‘नाम दर्ता अक्टोबर १० देखि नै थालिएको हो । तर, साथीहरुले समयमा नाम दर्ता नगराइ आज अन्तिम दिन मात्रै पक्रिया थाल्दा ढिलो भिडभाड भएको हो’ उनले भने, ‘हामी नेपाली हौँ, पुरानो बानी अझैं छाड्न सकेनौं कि !’

पत्रकार सम्मेलनमै विवाद !

एनआरएनले नवौं विश्व सम्मेलनको तयारीबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार भन्दा पनि गैरपत्रकार धेरै देखिन्थे । जब पत्रकार सम्मेलनमा एनआएरएनएका प्रवक्ता भूषण घिमिरेले लिखित प्रेस वक्तव्य बढेर सक्याए तब ‘प्रश्न भए राख्न’ भन्दै समाचार संयोजक चिरन शर्माले फ्लोरमा माइक दिए । त्यहाँ पत्रकार भन्दा गैरपत्रकारले प्रश्नको वर्षा गरे । निकै अव्यवस्थित पत्रकार सम्मेलनमा गैरपत्रकारले एनआरएन नेतृत्वले आर्थिक पारदर्शिता कायम नगरेको मतदाता नामावली फेरबदल भएको, एनआरएनमा राजनीति हाबी भएको जस्ता सवाल उठाए ।

तर प्रश्नको जवाफ दिने क्रममा उपाध्यक्ष कुमार पन्त र महासचिव बद्री केसीले कुनै प्रष्ट जवाफ दिएनन् । यद्यपि महासचिव केसीले पत्रकार सम्मेलनमा ‘म, मेरो, एनआरएनए र मेरो नेपाल’ भन्ने नारासहित सम्मेलन हुन लागेको बताए । दुई दिनसम्म होटल हायात रिजेन्सीमा आयोजना हुने सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन हुनेछ । विभन्न १४ पदका लागि ४२ जना चुनिनेछन् । मतदानको कार्यतालिका बुधबारका लागि तय गरिएको छ । नेपाल सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन र समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु