उपनिर्वाचनको तयारी सुरू, उम्मेदवारका लागि लबिङ

बागलुङ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बागलुङमा तयारी सुरू गरिएको छ। उपनिर्वाचनमा ३८ हजार सात सय एक मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बागलुङमा एक प्रदेशसभा र एक वडाध्यक्षको उपनिर्वाचन हुँदै छ। बागलुङ–२ ‘ख’बाट गण्डकी प्रदेश सभामा निर्वाचित टेकबहादुर घर्तीको मृत्यु भएको थियो। त्यस्तै, बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएका थिए। त्यसैले दुवै पद रिक्त रहेका छन्।

उपनिर्वाचनमा जिल्लाको क्षेत्र नं २ को प्रदेशसभा ‘ख’बाट ३६ हजार नौ सय २६ र बडिगाड गाउँपालिका–२ का एक हजार सात सय ७५ गरी जम्मा ३८ हजार सात सय एक मतदाता उपनिर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी विकास पौडेलले बताए। यसअघि प्रदेशसभा ‘ख’ मा ३३ हजार दुई सय ४० मतदाता सहभागी भएका थिए।

उपनिर्वाचनमा भाग लिने दलले निर्वाचन आयोगमा दल दर्ता गरिसकेपछि बागलुङमा चुनावी सरगर्मी बढ्न थालेको छ। ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिका रहेको बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’ मा ४२ मतदानस्थल रहनेछन् भने बडिगाड गाउँपालिका–२ मा दुई मतदानस्थल रहनेछन्।

गण्डकी प्रदेशसभा सदस्यअन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको गत मंसिर २६ गते निधन भएको थियो। राजमोबाट जिल्ला नेता घर्तीले तत्कालीन एमाले र माओवादी केन्द्रको समेत समर्थनमा बाम गठबन्धनका साझा उम्मेदवार बनेर चुनाव जितेका थिए।

जन्डिसबाट पीडित प्रदेशसभा सदस्य घर्तीको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो।
रिक्त रहेको दुई पदमा उपनिर्वाचन हुने भएपछि यस क्षेत्रमा क्रियाशील नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राजमोका नेताले पार्टीका जिल्ला र केन्द्रीय स्तरका नेतासमक्ष आफ्नो उम्मेदवारी आकांक्षा प्रस्तुत गर्न थालेका छन्।

यसअघि प्रदेशसभामा बाम गठबन्धनबाट विजयी घर्तीका धर्मपत्नी सुनमाया घर्तीलाई मुख्य सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ। यद्यपि सुनमाया यसै वर्ष मात्र स्थायी शिक्षकमा नाम निकालेर शिक्षणमा संलग्न भएकी छन्।

सुनमायाले निर्णय गर्न नसकेको अवस्थामा राजमोबाट अन्य उम्मेदवार मैदानमा आउन सक्ने सम्भावना छ। विगतको बाम गठबन्धन सहकार्यले निरन्तरताको विषयमा पनि चर्चा परिचर्चा र अनेक अनुमान सुरू भएको छ। कांग्रेसले भने चार जना स्थानीय नेताको नाम केन्द्रमा सिफारिस गरेर पठाइसकेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार रिक्त रहेको स्थानहरुको उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ मतदाता रहेको जनाएको छ। जसमध्ये दुई लाख ३३ हजार ४०२ महिला र दुई लाख २० हजार ७१० जना पुरुष छन्।

मङ्सिर १४ गते प्रतिनिधिसभाको एक, प्रदेशसभाको तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कूल ५२ पदमा निर्वाचन हुँदै छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु