चाडपर्वलाई लक्षित गर्दै ४२ हजार सुरक्षाकर्मी परिचालन, कुन प्रदेशमा कति ?

काठमाडौ । चाडपर्वलाई लक्षित गर्दै सरकारले देशभर ४२ हजार सुरक्षाकर्मी खटाउने भएको छ । चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराधका २४ क्षेत्र निर्धारण गरेर जनशक्ति तैनाथ गरिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

उपत्यकासहित ७ वटै प्रदेश प्रहरी कार्यालयमार्फत दसैं, तिहार, नेपाल संवत र छठलगायत पर्व सुरक्षा योजनाअन्तर्गत ४३ एसपी र १ सय २० डीएसपीसहित ४२ हजार ६ सय १९ जना प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा रणनीतिअनुसार अपुग २ हजार ५ सयभन्दा बढी जनशक्ति ७ वटै प्रदेशस्थित गण, गुल्म तथा तालिम केन्द्रबाट व्यवस्थापन गरिएको जानकारी प्रहरी मुख्यालयले दिएको छ । मोबाइल, पिकेट, नियमित चेकिङ, सरप्राइज चेकिङ, पैदल गस्ती, क्युआरटी, साइकल गस्ती, नाकाबन्दी, सादा पोसाक, होटल तथा लज चेकिङलगायत १८ फरक–फरक भूमिकामा खटाइएको छ ।

पर्व अवधिभर अपराधमा संलग्नको पहिचान गर्न तथा आवश्यक सूचना संकलनका लागि भन्दै उपत्यकामा ९३ जना घुमुवा परिचालन गरिएको छ । काठमाडौंमा एक डीएसपी र २ इन्स्पेक्टरसहित ५०,भक्तपुरमा नायब निरीक्षक सहित ३० र ललितपुरमा सईसहित १३ प्रहरी घुमुवाका रूपमा खटिएका छन् ।

प्रहरी मुख्यालयका अनुसार प्रहरी संगठनको कुल दरबन्दीको करिब ६० प्रतिशत जनशक्ति फिल्डमा खटाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले चाडपर्वमा यात्रु तथा उनीहरूका साथमा रहेका धनमालको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी सुरक्षा रणनीति तय गरिएको बताउनुभयो ।

चाडपर्व सकिएर जनजीवन सामान्य अवस्थामा नआएसम्म पर्व सुरक्षा योजनाअन्तर्गत नै आवश्यक शान्ति सुरक्षा व्यवस्थापन गरिने छ । चाडपर्व सुरक्षाका लागि ७७ वटै जिल्लाबाट परिचालित जनशक्तिलाई ८ हजार २ सय ६ समूहमा तैनाथ गरिएको छ ।

पोखरेलले सुरक्षामा खटिएका कर्मचारीले कार्यक्षेत्रमै चाडपर्व मनाउने जानकारी दिदै अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय र सहकार्यबाट शान्ति सुरक्षा व्यवस्थापनमा जोड दिएको बताउनुभयो । मुख्य सहरी क्षेत्र, राजमार्ग, हाटबजार, बैंक र वित्तीय संस्थालगायत बढी आर्थिक कारोबार हुने क्षेत्र, शक्तिपीठ, लामो तथा छोटो दूरीका बसपार्क केन्द्रित गरेर थप सुरक्षा सतर्कता अपनाइएको छ ।

प्रहरी मुख्यालयका अनुसार सुरक्षा योजनाअन्तर्गत नै ११ हजार ४ सय १ प्रहरीलाई हतियारसहित फिल्डमा खटाइएको छ । प्रत्येक ४ देखि ६ जनासम्मको समूह बनाएर मातहत क्षेत्रको गस्तीमा प्रहरी खटाइएकामा प्रत्येक समूहमा कम्तीमा १ जना हतियारसहितको सुरक्षाकर्मी रहने छन् । १३ हजार ५ सय १६ प्रहरीलाई लाठीसहित परिचालन गरिएको छ ।

प्रदेशमा कति ?
एक नम्बर प्रदेशअन्तर्गतका जिल्लामा ६ एसपी र २३ डीएसपीसहित ७ हजार ७ सय ७१ जना खटाइएको छ भने २ नम्बर प्रदेशमा ८ एसपी र १५ डीएसपीसहित ५ हजार ७ सय ७४ प्रहरी खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

५ नम्बर प्रदेशअन्तर्गत ८ एसपी र १८ डीएसपीसहित ७ हजार १ सय ४३ प्रहरी पर्व सुरक्षा योजनाअन्तर्गत तैनाथ छन् । उपत्यका सुरक्षा योजनाअन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, ललितपुर र भक्तपुरमा ५ एसपी र १७ डीएसपीसहित ६ हजार १ सय ५२ जनालाई खटाएको छ ।

गण्डकी प्रदेशमा ४ हजार २ सय २०, ३ नम्बर प्रदेशमा ४ हजार ६९, सुदूरपश्चिम प्रदेशमा ४ हजार १२ र कर्णाली प्रदेशमा ३ हजार ४ सय ७८ प्रहरी खटिएका छन् ।

सशस्त्र प्रहरी बल मुख्यालयले चाडपर्व सुरक्षा योजनाअन्तर्गत देशभर ९१ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु