एमबिबिएस परीक्षामा चरम लापरबाही, २ सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन

काठमाडौं । काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले लिएको प्रवेश परीक्षामा दुई सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन गरिएको छ । एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजामा विश्वसनीयता नै नभएपछि विद्यार्थी आक्रोशित भएका छन् ।

विश्वविद्यालयले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको थियो । तर, नतिजामा विद्यार्थीले चित्त बुझाएनन् । त्यसैले रिटोटलिङ गर्दा शुक्रबार पुनः अर्को नतिजा सार्वजनिक भएको थियो । जसमा, करिब दुई सयजनाको नतिजा हेरफेर भएको छ । पहिलो नतिजामा उच्च अंकसहित पास भएका विद्यार्थी दोस्रोमा फेल भएका छन् भने पहिले फेल भएका विद्यार्थी दोस्रोमा उच्च अंकसहित पास भएका छन् ।

६ हजार आठ सय विद्यार्थीले परीक्षा दिएकामा पहिलोपटक चार हजार ६ सय ४८ जना पास भएका थिए । नतिजामा चित्त नबुझाएका करिब एक हजार विद्यार्थीले रिटोटलिङ गरेका थिए । रिटोटलिङपछि प्रकाशित नतिजामा भने चार हजार चार सय ८९ जना मात्र पास भएका छन् ।

केयूले पहिलोपटक प्रकाशित गरेको नतिजामा मोहम्मद नसिर फेल भएका थिए । दोस्रो नतिजामा उनको ७४ नम्बर आएको छ । उनले अहिले पनि आफ्नो नतिजामा चित्त बुझाएका छैनन् । ‘केयूको रिजल्टमा अहिले पनि विश्वास गर्न सकिने अवस्था छैन । मेरो ८५ भन्दा बढी आउनुपर्छ, मजस्ता धेरै साथी पीडित भएका छन्,’ उनले भने । कतिपयको अंक घटेको पनि छ । अमृत खनालको पहिले ७१ आएकोमा पछिल्लोमा ६४ आएको छ ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । छात्रवृत्तिमा पढ्न पाउने आशामा वर्षौँदेखि तयारी गरेका विद्यार्थी विश्वसनीय नतिजा नआएपछि निराश र आक्रोशित भएका छन् । नयाँ पत्रिकामा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु