चिकित्सकको घरबाट २ हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला

जोलियाट । अमेरिकाको इन्डियाना राज्यका पूर्व चिकित्सकको इलिनोइसस्थित घरबाट दुई हजारभन्दा बढी मानव भ्रुणका अवशेष फेला परेको छ। गर्भपतन सेवा उपलब्ध गराउने यी चिकित्सकले भ्रुणलाई औषधिको प्रयोग गरी सुरक्षित राखेको पाइएको छ। डा उल्रीच क्लोपफर नाम गरेका ती चिकित्सकको गत साता निधन भएको प्रहरीले जनाएको छ। विल काउन्टी शेरिफ कार्यालयले शुक्रबार अबेर एक विज्ञप्ति प्रकाशन गरी उक्त घटनामा डा क्लोपफर संलग्न रहेको जनाएको हो। डा उल्रीचको परिवारले भ्रुणका बारेमा प्रहरीलाई जानकारी गराएपछि घटना सार्वजनिक भएको थियो।

प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्धानमा दुई हजार २४६ वटा सुरक्षित भ्रुण भेटिएको जनाएको छ। तर मेडिकल प्रक्रिया पूरा गरे वा नगरेको भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाई छ। प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान शुरु गरिसकेको जनाएको छ।

डा क्लोपफरको गत सेप्टेम्बर ३ मा मृत्यु भएको थियो। इन्डियानाको साउथ बेन्डमा लामो समयदेखि उनले गर्भपतन सम्बन्धी सेवा प्रदान गरिरहेका थिए।

तर सन् २०१५ देखि इन्डियाना राज्यले डा क्लोपफरको क्लिनिकलाई दिएको लाइसेन्स रद्द गरी यो सेवा बन्द गरेको थियो। इन्डियाना राज्यको स्वास्थ्य सेवा विभागले क्लिनिकले सञ्चालन प्रक्रियामा लापरवाही गरेको भन्दै सचेत गराएको थियो।

स्वास्थ्य सेवा विभागले उक्त क्लिनिकले खासगरी बिरामीको नाम राम्रोसँग नलेख्ने तथा मेडिकल गर्भपतनका नीतिहरु अनुशरण नगर्ने जनाएको थियो।

गर्भपतनका बारेमा कम्तीमा १८ घण्टा अघि जनचेतनामूलक तालिम आयोजना गर्नुपर्ने सरकारी नियमलाई समेत उक्त क्लिनिकले बेवास्ता गरेको विभागको भनाई छ। तालिम लिएको विषयलाई राम्रोसँग दस्तावेजीकरण नगरेको र लापरबाही गरेको थियो।

क्लोपफर इन्डियाना राज्यकै चर्चित गर्भपतन चिकित्सक मानिन्थे। साउथ बेन्ड ट्रिब्युन अखबारका अनुसार धेरै दशकदेखि इन्डियाना काउन्टीका धेरै ठाउँमा उनले हजारौंलाई सेवा दिएका थिए।

इन्डियानाका जीवनको अधिकार भन्ने संस्थाका अध्यक्ष माइक फिच्टरले एक वक्तव्य प्रकाशन गरी भनेका छन्, “डा क्लोपफरको इलिनोइज क्लिनिकमा हजारौं भ्रुणको अवेशष पाइएको खबरले हामीलाई त्रसित बनाएको छ ।”

उहाँले यी भ्रुणसँग इन्डियाना राज्यमा गरिएका गर्भपतनको कुनै सम्बन्ध रहे नरहेको खोजी गर्नुपर्ने बताएका छन्। एपी

सम्बन्धित शिर्षकहरु