डेंगुबाट ६१ जिल्ला प्रभावित, स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

काठमाडौं । धरानबाट गत वैशाखदेखि सुरु भएको डेंगुको संक्रमण फैलिँदो क्रममा रहेको छ । अहिलेसम्म डेंगुको संक्रमण ६१ जिल्लामा फैलिसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

नयाँ तथ्याङ्क अनुसार साउन १ गतेदेखि भदौ २४ गतेसम्ममात्रै ५ हजार ९५ जना डेंगु संक्रमणका नयाँ बिरामी थपिएका छन् । यस्तै २०७६ साल वैशाखयताको तथ्याङकअनुसार हालसम्म ८ हजार भन्दा धेरै मानिसमा डेंगुको संक्रमण फैलिसकेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम
अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै संघीय संसदका सांसदहरुले पनि डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन
यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने जनाएको छ । मन्त्रालयले बुधबार सचिवस्तरीय सो निर्णय गर्दै पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई परिपत्र गरेको छ । पत्रमा प्रकोप फैलिएका क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्कालका लागि प्रसूति, अध्ययन र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न नगराउनसमेत मातहतका निकायलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

डेङ्गु रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । पोथी जातको सो लामखुट्टेको टोकाइको भाइरसबाट सङ्क्रमित भई रोग सार्दछ । विसं २०७६ को वैशाख महीनादेखि हालसम्म छ हजारभन्दा बढी बिरामी भइसकेको जनाइएको छ ।

प्रायः यस जातको लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षात्को समयमा शुरु भएपछि सो रोग बढी देखापर्ने चिकित्सकले जनाएका छन् । ज्वरो आउने, टाउको दुख्ने आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, अरुची हुने, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने पेट तथा आन्द्रामा गडबडी हुने सो रोगका लक्षण हुन् ।

मुख्यतया लामखुट्टेको टोकाइबाट जोगिनु नै मुख्य रुपमा सो रोगबाट बच्ने उपाय मानिन्छ । पूरा शरीर ढाकिने गरी कपडा लगाउने लामखुट्टेको टोकाइबाट बच्न राति र दिउँसो पनि झुलभित्र सुत्ने, घर वरपर सफा राख्ने पानी जम्न नदिने, पानी राख्ने भाँडा जस्तै पानी ट्याङ्की, ग्रागी, बाल्टिन, ड्रम आदि सधैँ छोपेर राख्ने सुझाव चिकित्सकको रहेको छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु