धाविका मीरा राईलाई अमेरिकी विश्वविद्यालयको मानार्थ विद्यावारिधि

काठमाडौं । नेपालमा उकालीओराली दौड खेल ट्रेल रनिङ प्रवर्धन तथा सो खेलको अन्तरराष्ट्रिय प्रतिष्ठित प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरेकी धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटीले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो ।

राईले सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि मिरा चर्चित बनेकी थिइन् । त्यसपछि मीराले फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दूरीको अल्ट्रा म्याराथन समेत जितेकी थिइन् । त्यस्तै नेशनल जियोग्राफी च्यानलले प्रदान गर्ने ‘पिपुल च्वाइस एडभेन्चर्स अफ द इयर’ अवार्ड विजेता राईले नेपालको नाम उचो राख्न महत्वपूर्ण भूमिका खेलेकी थिइन्।

 

राजधानीस्थित प्रिसिडेन्टल विजनेस स्कुलद्वारा आज आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा डा डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो उपाधि प्रदान गरेका थियो ।

“मैले जीवनमा कति कोस दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने सोचेको थिइन । उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ र”, उपाधि पाइसकेपछि उनले भनिन् । उनको थप भनाइ थियो, “जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नु पर्यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । ट्रेल अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ ।”

सो अवसरमा उपराष्ट्रपति पुन र प्रा डा मेकेनीले अमेरिकाको सो विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको त्यस स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरेका थिए । स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

पूर्वी पहाडी जिल्ला भोजपुरको दुंग्मामा जन्मिएकी २७ वर्षीय मीरा राई माओवादीकी लडाकु हुँदै खेलकुदमा लागेकी थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी मीरा एथ्लेटिक्समा लागेकी थिइन् । कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको प्रशिक्षणमा मीराले सुरुवातमा कराते खेल खेलेकी थिइन् । तर, पछि कराते खेल्न छाडेर उनि अल्ट्रा दौडमा लागेकी थिइन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु