रिङरोडमा चल्न थाले बिजुली बस,अत्याधुनिक सुबिधा, बस्न भन्दा उभिन मज्जा (यस्तो छ रुट)

काठमाडौं । नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालनमा आएको छ । निजी क्षेत्रबाट सञ्चालनमा आएको बसको सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले औपचारिक रुपमा उद्घाटन गरेका छन् । सुन्दर यातायात प्रालिले पहिलो पटक विद्युतीय बस सञ्चालनमा ल्याएको हो । सोमबार उद्घाटन गरिएका बसमा एउटामा ३५ र अर्कोमा ४० सीट रहेको छ । उभिएर एउटा बसमा ६५ देखि ७० यात्रु अटाउन सक्ने कम्पनीले बताएको छ ।

चार्जिङका लागि भत्केको पुल, सीतापाइला र सुकेधारामा चार्जिङ स्टेशन स्थापना गरिएको छ । पहिलो रुटमा चक्रपथ परिक्रमा, दोस्रो रुटमा नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल, तेस्रो रुटमा गोगंबु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै भक्तपुरको सल्लाघारीसम्म, चौथो रुटमा गेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीरअस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चाबहिल–बौद्ध–जोरपाटी हुँदै अत्तरखेलसम्म र पाँचौं रुट भक्तपुरको सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमलमा बिजुली बस चल्ने कम्पनीले जनाएको छ । अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयरकण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ । त्यस्तै उभिएका यात्रुलाई सहजरुपमा समात्नको लागि प्रयोग गरिएको ह्याङ्गर नरम र लचकदार हुँदा जुनसुकै उमेरका र उचाइका यात्रुलाई यात्रा गर्दा थप सहज हुने कम्पनीको दाबी छ । साथै कम्पनीले फोहोर व्यवस्थापनका लागि बसको सिटसँगै डस्टबिनको पनि व्यवस्था गरेको छ । कम्पनीका अनुसार भाडा तिर्नका लागि यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई–पेमेन्टलाई अपनाउन सक्नेछन् ।

 

Comments

comments

सम्बन्धित शिर्षकहरु