स्यालले सिंहका अघि आएर हल्ला गर्दैमा सिंह सिंह नै हो, स्यालसँग तुलना हुँदैन : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कहिलेकाहीँ स्यालले सिंहका अघि आएर हल्ला गर्ने गरेको बताएका छन् । तर कहिलेकाहीँ हल्ला गर्दैमा सिंह र स्यालबीच तुलना नहुने उनको भनाइ थियो ।

सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा अयोजित २१ औं सुरेश वाग्ले स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले गणतन्त्रलाई बलियो बनाउँदै जनअपेक्षाअनुसार काम गर्नुपर्ने आवश्यकता पनि औंल्याए । ‘कहिलेकाहीँ सिंहका अघि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन,’ प्रचण्डले भने, ‘सिंह सिंह नै हो । स्याल स्याल नै हो ।’

प्रचण्डले अहिले प्रतिक्रान्तिको गन्ध आइरहेको भन्दै परिवर्तनकारी शक्ति र तिनको नेतृत्वलाई बदमान गर्न अनर्गल प्रचार भइरहको बताए । आफूहरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने र जनतालाई परिणाम दिँदै यो व्यवस्थालाई सुदृढ गर्नेतर्फ अग्रसर भएको उनकाे भनाइ थियाे ।

राजतन्त्र फर्काउन खोज्नेतर्फ संकेत गर्दै प्रचण्डले चिहानबाट कोही पनि नब्युँझने प्रष्ट पारे । तर, केही शक्तिले चिहातबाट प्रेतात्मालाई ब्युँझाउन खोज्दा जीवितहरुलाई नै दुःख दिने गरेको उनको भनाई थियो । ‘चिहानबाट भूतप्रेतलाई ल्याउँदैमा ब्यूतिने भन्ने कुरा विज्ञानले मान्दैन,’ सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तर, पनि तिनका केही प्रेतात्माहरु बेलाबेलामा आउने र जीवित मान्छेलाई कुनै न कुनै रुपमा दुःख दिने गर्दा रहेछन् ।’

परिवर्तनकारी शक्ति र नेतामाथिको अनर्गल प्रचारले संघीय लोकतान्त्रिक गणतन्त्रलई नै बदमान गर्ने उनले बताए । साेही उद्देश्यका साथ यस्ताे प्रचार भइरहेकाे उनकाे भनाइ थियाे । धेरै तल्लो स्तरमा झरेर यस्तो प्रचार भइरहेको पनि प्रचण्डकाे टिप्पणी थियाे ।

कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताउदै उनले कम्युनिस्ट आदर्शबाट कम्युनिस्ट शक्ति विचलन भइरहेको टिप्पणी गरे । ‘वैचारिक स्पष्टता, राजनीतिक परिपक्वता र नैतिक चरित्र र आचरणका दृष्टिकोणले हेर्दा हामी धेरै नै खस्किएका छौँ भन्ने महसुस हुने गरेको छ,’ उनले भने, ‘हामी बढी नै आत्मकेन्द्रित भएका छौं । आदर्शबाट विचलन भएका छौं ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु