चीनका विदेशमन्त्री तीनदिने नेपाल भ्रमणमा,यस्तो छ ४५ घण्टे कार्यक्रम

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै छन्। उनलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीसहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उनको शिष्टाचार भेट हुने छ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छ।

वाङको तीन दिने औपचारिक भ्रमण कार्यतालिका अनुसार भदौ २२ गते, आइतबार अपरान्ह ४ः २० बजे उनी विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्।

काठमाडौंमा करिब ४५ घण्टा रहने विदेशमन्त्री वाङ सोल्टी क्राउन प्लाजा होटलमा बस्नेछन्।

वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल १५ सदस्यीय रहेको छ र काठमाडौंमा उनका अधिकांश भेटवार्ता र औपचारिक दुई पक्षीय बैठक भदौ २३ गते सोमबारलाई राखिएको छ।

भदौ २३ गते, सोमबारः राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट
आइतबार काठमाडौं उत्रेपछिको साँझ र सोमबार बिहान वाङको कार्यक्रम के छ भन्ने परराष्ट्र मन्त्रालयको कार्यसूचीमा खुलाइएको छैन। संभवतः यो समय चिनियाँ दूतावासले गर्ने ब्रिफिङ र आयोजना गर्ने गतिविधिमा उनी सहभागी हुनेछन्।

सोमबार दिउँसो ३ः३० बजेदेखि ४ः३० बजेसम्म वाङले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र उनका समकक्षी प्रदीप ज्ञवालीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच होटल याक एण्ड यतीमा दुई पक्षीय वार्ता हुनेछ। त्यसलगत्तै दुई पक्षीय प्रतिनिधिबीचमा केही सम्झौताहरूमा हस्ताक्षर हुँदैछ।

सोमबार साँझ ५ बजेदेखि ५ः४५ बजेसम्म, ४५ मिनेट वाङको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको निवास बालुवाटारमा भेटवार्ता गर्ने छ। त्यसपछि विदेशमन्त्री वाङको टोली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि शितल निवास जाने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीसँग वाङले बेलुकी ६ बजेदेखि ६ः४० बजेसम्म, ४० मिनेट भेटवार्ता गर्नेछन्।

भदौं २४ गते, मंगलबारः प्रचण्ड र देउवासँग भेट
भदौ २४ गते मंगलबार चीनका विदेशमन्त्री वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

अध्यक्ष दाहालसँग बिहान ९ बजेदेखि ९ः३० बजेसम्म आधा घण्टा भेटवार्ता गरेपछि वाङको टोलीले देउवासँग ९ः३० बजेदेखि १० बजेसम्म आधा घण्टा भेट्ने कार्यसूची तय भएको छ।

वाङले दाहाल लगत्तै देउवासँग भेटने समय तय गरिएपनि परराष्ट्र मन्त्रालयको कार्यक्रममा भेट्ने स्थान खुलाइएको छैन।

Comments

comments

सम्बन्धित शिर्षकहरु