किन खाइन्छ ऋषिपञ्चमीका दिन कर्कलोको तरकारी,यस्ता छन् फाईदाहरु

काठमाडौं । सामान्य तपाई हाम्रो गाउँघरमा पाइने तरकारी हो कर्कलो । यसको तरकारी कसैलाई मन पर्छ भने कसैलाई मन नपर्न सक्छ । यसको पात तथा फल दुवै तरकारीको रुपमा खान सकिने तरकारी हो कर्कलो । यसबाट प्रोटिन, पोटासियम, भिटामिन, आइरन लगाएतका तत्वहरु पाइने गर्दछ । हिन्दू नारीको ठूलो चाड तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन कर्कलोको तरकारी खाने प्रचलन छ । अघिल्लो दिन निराहार ब्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुवाई–धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कलोको तरकारीसँग खाना खाने गरिन्छ । ऋषिपञ्चमीका दिन कर्कलो नै खानुपर्ने जबरजस्त धार्मिक मान्यता छैन । यद्यपि, सुइरो भएर उम्रिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा उल्लेख छ ।

कर्कलोका फाइदा

कर्कलोमा पाइने धेरै तत्वमध्ये क्याल्सियम अक्जालेट पनि एक हो। अक्जालेट प्रायः धेरै हरियो सागसब्जीमा हुने गर्छ । नेपालमा हामीले खाने गरेको कर्कलोमा ५ सय ९० मिलिग्राम अक्जालेट प्रति १ सय ग्राम कर्कलो रहेको प्रयोगशालाको रिपोर्टले देखाएको थियो । नेपालकै पालुंगो परीक्षण गर्दा ७ सय ५० मिलिग्राम अक्जालेट प्रति १ सय ग्राम कर्कलो देखायो ।

आजको कटिङ एजको जमानामा परम्परागत पाराले खानाको विश्लेषण गरी आएको तथ्यांकका भरमा शरीरको स्वास्थ्य अवस्थामा हुने असरबारे अनुमान गर्नु लगभग ढुंगे युगमा फर्कनु मानिन्छ । न त आयुर्वेद न त खाद्यविज्ञान, कतै पनि यो तरिका पूर्ण मानिँदैन र होइन पनि ।

मिर्गौलाको पत्थरलाई परीक्षण गर्दा यसमा ७० देखि ८० प्रतिशतसम्म विभिन्न प्रकारका क्याल्सियम अग्जालेट, १० देखि १५ प्रतिशतसम्म म्याग्नेसियम एमोनियम फस्फेट, ३ देखि १० प्रतिशतसम्म युरिक एसिड र ०.५ देखि १ प्रतिशतसम्म सिस्टिन पाइएको छ । मिर्गौलामा भेटिने पत्थरलाई परीक्षण गर्दा धेरै क्याल्सियम अग्जालेट भेटियो भन्ने आधारमा क्याल्सियम अक्जालेट हुने कर्कलो, पिँडालु, हरियो सागसब्जी मिर्गौलाको पत्थरी हुने कुरो हो, नखाऊ भन्नु अवैज्ञानिक मात्र होइन बचपना र भद्दा मजाक हुनेछ ।

खानाका कारण मिर्गौलाको पत्थरी हुन डाइजेसन हुनुअघि खानामा कति अक्जालेट छ भन्ने कुराले नभई हाम्रो आमाशयको पाचन प्रक्रियापश्चात् रगतमा सोस्नका लागि उपलब्ध खानाको बाइप्रडक्टमा डाइजेस्टेबल अक्जालेट कति छ, त्यसको भूमिका हुन्छ ।

उदाहरणका लागि दालचिनी र बेसारमा अग्जालेट लगभग उस्तैउस्तै परिमाणमा हुन्छ। तैपनि बेसारको पाचन प्रक्रियापश्चात् आउने कौमारिनले आन्द्राबाट रगतमा सोस्नका लागि डाइजेस्टेबल अक्जालेट उपलब्ध गराइदिने तर दालचिनी पाचन प्रक्रियापश्चात् आउने सिनामन अल्डिहाइडले डाइजेस्टेबल अक्जालेट उपलब्ध नगराउने हुँदा मिर्गौलाको पत्थरी हुने सम्भावना बोकेकाहरूलाई दिनमा १ चिया-चम्चाभन्दा बढी बेसार नखान भनिन्छ तर दालचिनीका लागि त्यस्तो कुनै नियन्त्रण गरिन्न ।

अनुसन्धानहरूबाट आजसम्म निक्लेको सर्वसम्मत राय के हो भने खानपानबाट मिर्गौलाको पत्थरी हुने सम्भावना न्यून गर्न खानामा क्याल्सियम र अक्जालेट घटाउँदा भन्दा मासुबाट प्राप्त हुने प्रोटिन र नुनको मात्रालाई कटौती गर्दा धेरै प्रभावकारी हुन्छ ।

कर्कलोमा हुने क्याल्सियम अक्जालेट क्रिस्टलले गर्दा मानिसलाई कर्कलो कोक्काउँछ । जब कर्कलो र पिँडालु पाकी नकोक्काउने बन्छन्, तब यो शरीरलाई हानी गर्ने अक्जालेटको सेफ लेभलमा झरिसकेको हुन्छ । कर्कलो र पिँडालुमा कागती वा निम्बुको अमिलो हाल्दा क्याल्सियम अक्जालेटको क्रिस्टललाई झन भत्काइदिन्छ । अनुसन्धानले कागती वा निम्बु गाभामा ठोसी खाने गर्दा अमिलोले र बोक्रामा पाइने सुगन्धका कारण मृगौलामा पत्थरी हुन सहयोग गर्ने अक्जालेटको उपलब्धता घटाइदिएको पुष्टि गरेको छ । कागतीको रस र बोक्रामा हुने पोलिफिनोलले हाम्रो शरीरलाई क्षारीय गुण दिन्छ।

कर्कलोको उपयोगमात्र खानामा सीमित छैन, कर्कलोको पातलाई गरम पानीमा पकाएर बनेको लेदो फलाम र कम गुणस्तरको स्टिलमा खिया नपरोस् भनी पेस्ट बनाएर दल्ने वा झोल नै छर्कने गरिन्छ। ४ प्रतिशत कर्कलो पानीको झोलले ७३ प्रतिशत फलामलाई खिया लाग्नबाट बचाएको पाइन्छ। कारण कर्कलोमा हुने पोलिफिनोल एन्टीअक्सिडेन्ट हुने हुँदा यसले फलामलाई अक्सिजनसँगको संसर्गमा आएर खिया लाग्ने वातावरणलाई रोकिदिन्छ।

कर्कलोमा अक्जालेट भए पनि घिउमा जिरा–मेथी पड्काएर गाभा झानी, कागती र खुर्सानी ठोसी खाने रैथाने चलन अक्जालेटबाट शरीरलाई हानी हुनबाट बचाउन सक्षम हुनाले नै सयौं वर्षदेखि हाम्रो चलनचल्तीमा आएको हो। हाम्रा प्राय: सबै रैथाने खाना ‘रियल लाइफ सिचुएसन’मा मानिसमै प्रयोग भई लाभदायक भेटिएपछि मात्र दैनिक खाना बनेको हो। त्यसैले त आज संसारले खाँदैछ, हाम्रो रैथाने खाना-कर्कलो गाभा। तेस्तै पालकमा अक्जालेट भए पनि पालक पनिर खाने रैथाने चलन अक्जालेटबाट शरीरलाई हानि हुनबाट बचाउन सक्षम सर्वस्वीकार्य चलन रहेछ भन्ने कारणसहित पुष्टि भएको छ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कलो खाने चलन छ । दक्षिण अमेरिका, कोस्टारिका, निकारागुवा, पनामा, देराममा सुप बनाएर खाइन्छ । कतिपय ठाउँमा कर्कलोको जरा अर्थात पिँडालुलाई आलुको सट्टा प्रयोग गरिन्छ । युरोपमा रोमन समयताकै पिँडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको थियो  ।

Comments

comments

सम्बन्धित शिर्षकहरु