‘संविधान दिवसको बिदा तास खेल्न,गर्लफ्रेण्ड-ब्वाइफ्रेण्ड भेट्न होइन,आ–आफ्नो स्थानबाट योगदान दिनुहोस्-‘मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो स्थानबाट योगदान दिन सबैलाई आग्रह गरेका छन् । संविधान दिवस मुल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा गरेको बताए । उनले संविधान दिवसअन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ संस्था, निजी क्षेत्रका संघ संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।

‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन,’ मन्त्री बाँस्कोटाले भने, ‘फाइनल कुरा यही हो । सिधा सिधा, राष्ट्रिय दिवस नै मनाउन बिदा दिएको हो ।’

उनले संविधान दिवसलाई कर्मकाण्डीभन्दा भिन्न रुपमा सबै वर्ग विशेषको सहभागिता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि सिर्जनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

संविधान दिवस मुल समारोह समितिअन्तर्गत सञ्चारमन्त्री बाँस्कोटाको संयोजकत्वमा गठित प्रचारप्रसार उपसिमितिले बुधबार सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरुसँग छलफल गरेको हो ।

Comments

comments

सम्बन्धित शिर्षकहरु