अमेजनको भीषण आगो : जी सेभेनको २ करोड डलर सहयोग ब्राजिलद्वारा अस्वीकार

एजेन्सी । ब्राजिल सरकारले अमेजन जङ्गलमा लागेको आगो निभाउन जी सेभेन मुलुकले गरेको २ करोड २० लाख डलरको सहयोग प्रस्ताव अस्वीकार गरेको छ। सोमबार सकिएको जी सेभेन बैठकमा आयोजक फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले ब्राजिललाई उक्त सहयोग रकमको घोषणा गरेका थिए। उक्त बैठकमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका सहभागी थिए।

ब्राजिलले उक्त रकम किन अस्वीकार गर्‍यो भन्नेबारेमा कुनै स्पष्ट कारण दिएको छैन। तर राष्ट्रपति जैर बोल्सोनारोले फ्रान्सले आफ्नो मुलुकलाई उपनिवेशजस्तै व्यवहार गरेको आरोप लगाए। ब्राजिलका रक्षामन्त्रीले अमेजनको आगो नियन्त्रणबाहिर नरहेको पनि दाबी गरे।

जि सेभेन मुलुकको सहयोगका बारेमा टिप्पणी गर्दै ब्राजिलीयन राष्ट्रपतिका चिफ अफ स्टाफ ओनिक्स लोरेन्जोनीले ग्लोबो वेबसाइटसँग भने– सहयोगका लागि धन्यवाद, उक्त रकम युरोपमा जंगल पुनः जगाउनमा बढी काम लाग्ला।’

‘म्याक्रोंले विश्व सम्पदा सूचीमा रहेको आगोसमेत निभाउन सकेनन्, अहिले हामीलाई पाठ सिकाउन खोज्ने?’ उनले भने। ब्राजिलले आफ्नो जंगल कसरी बचाउन सकिन्छ भनेर कुनै पनि मुलुकलाई पाठ पढाउन सक्ने पनि उनले दाबी गरे।

ब्राजिलको अमेजन जंगलमा लागेको आगोले ठूलो क्षति पुर्‍याइसकेको छ। फ्रान्सका राष्ट्रपति म्याक्रोंले यसलाई ‘अन्र्तर्राष्ट्रिय संकट’ भनेका छन्। सोमबार हलिउड अभिनेता लियोनार्डो डिक्याप्रिओले अमेजन जंगल जोगाउन ५० लाख डलर सहयोगको घोषणा गरेका थिए। ब्राजिल सरकारले आगो निभाउन ४४ हजार सैनिक परिचालन गरेको छ

सम्बन्धित शिर्षकहरु