हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्था कार्यान्वयनमा समस्या,के हो हाइव्रिड गाडी ?

काठमाडौं । हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्था कार्यान्वयनमा समस्या भएको छ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटले नेपालमा पहिलो पटक घोषणा गरेको व्यस्थामा भन्सारले हाईब्रिडको परिभाषा नै नबुझ्दा समस्या पैदा भएको हो ।

सरकारको घोषणाले हाइब्रिड कार अन्य सावरी साधानभन्दा निक्कै सस्तो हुने आँकलन गरिएको थियो । गाडी बिक्रेता र उपभोक्ता समेत उत्साहित भए । तर, भन्सार विभागका केहि अधिकारीहरुका कारण हाइब्रीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन गराउन सफल नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क(इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दीबमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको छ ।

यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रीड कारमा लाग्ने राजस्व ६१ प्रतिशतले कम हुनुपर्ने थियो । तर, यो व्यवस्थाले सीमित कार आयातकर्ताहरुलाई मात्र फाइदा भएको भन्दै भन्सार विभागका अधिकारीहरुले बजेटमै भएको व्यवस्था समेत कार्यान्वयनमा ध्यान नदिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

सरकारले बजेटमार्फत ल्याएको हाइब्रीड कारमा छुट सम्बन्धी व्यवस्थालाई तुहाउने गरी कतिपय गाडी बिक्रेता र डिलरहरुले भित्रभित्रै सक्रियता बढाइरहेका समेत स्रोतहरुले दाबी गरेका छन् । हाइब्रीड कार भित्र्याउन नसक्ने, अरुले भित्र्याएको खण्डमा आफ्नो व्यवसाय चौपट हुने सोंच राख्नेहरुलाई भन्सारका अधिकारीहरुले समेत सद्भाव राख्दा अर्थमन्त्रीले बजेटमा गरेको महत्वपूर्ण घोषणा अहिले कार्यान्वयनविहीन अवस्थामा छ ।

बजेटमा भएको छुटको यो व्यवस्थाले गाडी बिक्रेताभन्दा बढी कार खरिदकर्तालाई फाइदा हुने थियो । उपभोक्ताले सस्तोमै गाडी चढ्न पाउँथे । तर, भन्सार विभागले बजेटमा भएको व्यवस्थाको समेत अपव्याख्या गर्दै छुटको यो व्यवस्था कार्यान्वयनमा अवरोध सिर्जना गरिरहेको देखिएको छ । स्रोतहरुका अनुसार भन्सार विभागका अधिकारीहरुकै मिलेमत्तोमा बजेटमै भएको व्यवस्थालाई समेत कार्यान्वयन गर्न नदिने खेल सुरु भएको छ ।

हाइब्रीड कारले माइलेज पनि धेरै दिने र १ करोडभन्दा बढी मूल्य पर्ने कार ६५ देखि ७० लाख रुपैयाँमै आउनसक्ने अवस्था हुन्छ । यसअघि पनि नेपालमा हाइब्रीड कार नआएका होइनन् । विगतमा ल्याइएका हाइब्रीड कारमा एकैखालको भन्सार तथा अन्तःशुल्क लाग्थ्यो । यसपटकको बजेटको नयाँ व्यवस्थाले हाइब्रीड कारको आयात र प्रयोगलाई बढाउथ्यो, तर भन्सार विभागका कारण बजेटमै भएको व्यवस्था समेत कार्यान्वयन आउन सकेको छैन ।

सवारी साधनलाई विलाशिता र आवश्यकताको हिसाबमा गत वर्ष वर्गिकरण गरेका अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत भने हाइब्रीड कारलाई निक्कै राहत दिए । तर, अर्थ मन्त्रालय अन्तरगतकै भन्सार विभागले चासो नदिँदा व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन ।

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले हाइब्रीड कारको परिभाषामा केही गडबडी देखिएकोले अध्ययनका लागि समय लागेको र बजेटमा घोषित व्यवस्था कार्यान्वयनमा आफूहरुले कुनै अवरोध सिर्जना नगर्ने दाबी गरे ।

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले हाइब्रीड कारका लागि बजेटमा विशेष छुटको घोषणा भए पनि कस्तो कारलाई हाइब्रीड मान्ने भन्ने विषयमा अध्ययन भइरहेकोले समय लागेको दाबी गरे ।

के हो हाइव्रिड गाडी ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले काम गर्दछ ।

बाटोको अवस्था हेरी इन्जिनले पनि काम गरिहेको हुन्छ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् व्याट्रि इन्धन दुबै खपत हुन्छ भने कहिले व्याट्रिको साथसाथै इन्धनमात्र पनि खपत हुने गर्दछ । व्यट्रिले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।

हाइब्रिड कार परम्परागत कार जत्तिकै चलाउन सहज हुन्छ । यसको शक्तिमा कुनै सम्झौता गरिराख्नु नपर्ने भएकाले यो कार आज संसारमा प्रमुख रोजाइमा पर्दै आएको छ । यस कारमा चालकले आफ्नो आवश्यकता वा वाटोको प्रकृति हेरी कारलाई कुन मोडमा चलाउनु पर्ने हो सो कुरा आफै तय गर्न सक्छन् ।

हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर व्याट्रिमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जव ब्रेक लगाइन्छ त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ तर, हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमा भएको व्याट्रि चार्ज हुन्छ ।

हाइब्रिड इन्जिनका विभिन्न प्रकारहरु हुने गर्दछन् ती मध्ये प्यारलल हाइब्रिड, प्लग इन हाइब्रिड, सिरिज हाइब्रिड, माइल्ड हाइब्रिड, स्मार्ट हाइब्रिड हाल प्रयोगमा आइरहेका छन् ।

हाइब्रिड कारका आफ्नै विशेषताहरु हुन्छन, जस्तो यसमा इन्धनको मूल्य वृद्धिले यसलाई खासै असर गर्दैन भने यसले कार्वन उत्सर्जन पनि न्यून मात्रामा गर्ने हुँदा वातावरणमा पनि यसले ठूलो योगदान दिन्छ ।

प्रत्येक वर्ष विश्वको तापक्रम बढै गईरहेको वर्तमान अवस्थमा यस्ता कारहरुले निश्चय नै ठूलो योगदान पुर्याउने हुँदा आज विश्वका हजारौं बैंज्ञानिकहरुले यस्ता कारहरुमा अझ बढी गहिरो अन्वेषण गर्दै आएका छन् ।

ब्रेक लगाउँदा उत्पन्न हुने काइनेटिक इनर्जीले व्याट्रि चार्ज हुने यसको प्रमुख विशेषता हो । त्यसैगरी यस्ता कारहरुको निर्माण गर्दा हलुका कच्चा सामग्रीहरुको प्रयोग गरिएको हुन्छ, अर्थात् हलुका भएका कारण यस्ता कारहरुले कम इन्धन खपत गर्दछन् । यस्ता कारहरुको दिन प्रतिदिन माग बढ्दै गईरहेको अवस्थामा माग ज्यादा भएको हुँदा उच्चतम मूल्यमा रिसेल गर्न पनि सहजै सकिन्छ ।

कुनै पनि कुराको सकारात्मक तथा नकारात्मक दुबै पक्ष हुने हुँदा हाइब्रिड कारका कही नकारात्मक पक्षहरु पनि रहेका छन् । हाइब्रिड कारका नकारात्मक पक्ष भन्दा सकारात्मक पक्ष बढी भएको हुँदा आज संसारमा यस्ता कारहरुको उत्पादन वृद्धि हुँदै गइरहेको छ भने यस्ता कारहरुको प्रविधिमा हजारौं अन्वेषण एवं खोज अनुसन्धान हुँदै आइरहेका छन् ।

Comments

comments

सम्बन्धित शिर्षकहरु