बैंकमा साढे ६ क्विन्टल सुन, बजारमा मूल्य उच्चः तर बिक्री शून्य

काठमाडौं । सुनको भाउमा अचाक्ली वृद्धि भएछि नेपाली बजारमा सुन कारोबार ठप्पजस्तै भएको छ।

बजारमा सुनको माग नभएपछि आयात गरेको ६ सय ४२ किलो सुन बैंकमै थुप्रिएको छ । ‘बैंकले लिन आऊ भन्छ । तर, बजारमा माग छैन,’ नेपाल सुनचाँदी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए।

शुक्रबार र शनिबार सुन प्रतितोला ७१ हजार पाँच सयमा खरिद–बिक्री भयो। दुई सातायता मात्र प्रतितोला साढे ६ हजारले बढेको छ भने दुई महिनायता प्रतितोला १० हजार रुपैयाँले बढिसकेको छ।

सुनको भाउ अकासिँदै गर्दा चाडपर्वमा नेपाली उपभोक्ता सुनतर्फ आकर्षित भई खरिदबिक्रीमा उत्साहित देखिने विगतको चलनमा यसपालि भने ब्रेक लागेको देखिन्छ।

सुनपसल सुनसान देखिएका छन् । कुनै–कुनै पसलमा दिनभरमा एकजना ग्राहक पनि गएको देखिँदैन । बरु उल्टै गहना बिक्री गर्ने ग्राहक भेटिन्छन्।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा मुना कुँवरले लेखेकी छन्।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजार पनि प्रभावित बनेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका इरान तनाव र भारतको कस्मिर विवादले सुनको भाउ अन्तर्राष्ट्रियस्तरमै अकासिएको हो ।

शनिबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार पाँच सय १५ अमेरिकी डलर पुग्यो । दुई साताअघि एक हजार चार सय ५० डलर थियो । एक महिनायता मात्र प्रतिऔँस ८६ डलर बढिसकेको छ । ६ महिनाको तुलना गर्ने हो भने प्रतिऔँस एक सय ९५ डलरले बढेको छ।

सुनको सबैभन्दा उच्च मूल्य सन् २०१० र २०११ को बीचमा भएको थियो । त्यसवेला प्रतिऔँस एक सय नौ डलरसम्म पुगेको थियो । त्यो नेपाली बजारमा ६३ हजार तीन सय रुपैयाँसम्म पुगेको थियो । तर, त्यसवेला अहिलेभन्दा नेपाली रुपैयाँ डलरसँग मजबुत भएकाले सुनको मूल्य ६३ हजार तीन सयमै समेटिएको थियो।

यस्तै परिस्थिति रहे आगामी साता पनि मूल्य बढ्न सक्ने सुनचाँदी व्यवसायी महासंघको अध्यक्ष मोहनकुमार विक बताउँछन् ।

‘तर, के हुन्छ ठ्याक्कै अनुमान गर्न कठिन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा प्रभाव पर्छ । अहिलेको परिस्थितलाई हेर्दा आगामी दिन पनि बढ्ने अनुमान गर्न सकिन्छ।’

Comments

comments

सम्बन्धित शिर्षकहरु