काठमाडौं । जनप्रतिनिधिले टेबुल, ‘पिर्का’मा सलामी लिइरहेका आलोचना भइरहेको बेला कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको ‘पिर्का’ उभिएर सलामी लिएका छन् । बिहीबार गृहनगर पचालझरना पुगेका मुख्यमन्त्री शाहीले खोला बगरमै ‘पिर्का’मा उभिएर लिए सलामी लिएका हुन् । साताव्यापी गृहजिल्ला भ्रमणमा रहेका उनले खोला किनारको बगरमा रातो कपडाले बेरेको पिर्कामा उभिएर सलामी लिएका हुन् । उनले सलामी लिँदा स्थानीय बासिन्दा भने हाँसिरहेका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा ऊर्जामन्त्री रहेका बेला पनि मुख्यमन्त्री शाहीले प्रहरीबाट लिएको सलामीको लाामो समय आलोचना खेप्नु परेको थियो । २०७४ कात्तिकमा बिनाविभागीय मन्त्री छँदा उनले कालिकोटमा आफू बास बसेकै होटलबाहिर प्रहरीबाट सलामी लिए ।
यसअघि महालक्ष्मी नगरपालिका, धनकुटाका मेयर परशुराम नेपाल टेबुलमाथि चढेर सलामी लिएको तस्बिर भाइरल भएको थियो । उनले पछि गल्ती भएको बताएका थिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको सलामी, सुदूर–पश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रममै रातो कार्पेटमा हिँडेको तस्बिरको आलोचना भएको थियो । उनलाई पचालझरनाको फेदीमा स्थानीय बासिन्दाले २० किलोग्रामको स्याउको माला लगाएका दिएका थिए । पचाल झरना गाउँपालिकाको पाँचाँै विशेष गाउँसभालाई सम्बोधन गर्न गएका मुख्यमन्त्री शाहीलाई स्थानीय बासिन्दाले एक सय ८१ दाना स्याउको माला लगाएका हुन् । पचाल झरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले भने एक सय ८१ मिटर उचाइको ओझेलमा परेको पचालझरनाको पर्यटकीय विकासका लागि प्रदेश सरकारको एजेन्डा बनोस् भन्ने उद्देश्यले माला लगाएको बताए । प्रदेश सरकारको ध्यानाकर्षण गराउन माला लगाएको उनको भनाइ छ ।