मन्त्री रिझाउँदै वायुसेवा निगम:दुई हजार डलर खर्चेर मन्त्री गृहजिल्लामा परीक्षण उडान

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई रिझाउन उनको गृह जिल्ला ताप्लेजुङमा परीक्षण उडान गराएका छन्।
निगममा प्रयाप्त पाइलट छैनन्। अहिले भएका जहाज पाइलट नहुँदा ग्राउन्डेड छन्। निगमले नियमित उडान भरिरहेका स्थानमा पनि जहाज उडाउन समस्या हुँदै आएको छ। तर, अध्यक्ष खरेलले गत शनिबार मात्रै निगमको वाई–१२ विमानमार्फत ताप्लेजुङमा परीक्षण उडान गरेका छन्। जबकी उनले अध्यक्ष भएर आएको ११ महिनामा गरेका परीक्षण उडानमा कहिँ पनि नियमित उडान हुन सकेको छैन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई पनि रिझाउन उनले यसरी नै परीक्षण उडान गरेका थिए। त्यतिबेला परीक्षण उडान गरेका ठाउँमा पनि अझै एउटा पनि नियमित उडान हुन सकेको छैन।

एउटै परीक्षण उडानमा दुई हजार डलर खर्च

परीक्षण उडानमा निगमका आईपी पाइलट आङनुरी शेर्पा र पाइलट तालिममै रहेका फिजियोनाथ नेपाली चालक टोलीमा छन्। प्रत्येक परीक्षण उडानमा एक हजार पाँच सयदेखि दुई हजार अमेरिकी डलरसम्म खर्च हुन्छ।
साउन १९ गते आइतबार मात्रै निगमको वाई–१२ विमानले काठमाडौं–दाङ–नेपालगञ्ज–साँफेबगर–दाङ–काठमाडौं उडान गरेको थियो। यति लामो उडान अछामको साँफेबगरमा परीक्षणका लागि नै तय गरिएको हो।
निगमसँग हाल चिनियाँ जहाज वाई १२ ई जहाज चार वटा रहेका छन्। सबै जहाज पूर्ण क्षमतामा उडाउने हो भने दैनिक २० भन्दा बढी उडान गर्न सक्छ।

जसका लागि १० जना क्याप्टेन आवश्यक पर्छ। तर, निगमसँग तीन जना मात्रै पाइलट रहेका छन्। परिक्षक पाइलटको रुपमा रहेका केबी लिम्बूको अझै उडान सुरू हुन सकेको छैन। जसका कारण एक–दुई जहाज मात्रै उडान गरिरहेका छन्।

त्यस्तै, निगमसँग एमए ६० दुइटा जहाज छन्। जसमा एउटा मात्रै उडान भरिरहेको छ भने डेढ वर्षदेखि एक जहाज ग्राउन्डेड छ। जहाज पूर्ण क्षमतामा उडाउने हो भने ६ वटा उडान दैनिक रुपमा गर्न सकिन्छ। निगमसँग रहेका तीन वटा ट्वीनटर जहाजबाट दैनिक १५ उडान गर्न सकिए पनि एक जहाजले मात्रै उडान भरिरहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु