ट्रमामा छट्पटाउँदै सुकेधारा विस्फोटका सैलुनवाला : न प्रहरीले पुष्टि गर्न सक्यो, न छाड्यो !

काठमाडौं । जेठ १२ गते सुकेधारा विस्फोटमा परी घाइते भएका छोटु ठाकुर संघर्षको लामो बाटो हिँडेर सैलुन मालिक भएका थिए । यतिबेला उनीसँग आफ्नो भन्ने केही छैन । ट्रमा सेन्टरको छैटौं तलामा छटपटाएको दुई महिनाभन्दा बढी भइसक्यो । अस्पतालले डिस्चार्ज गरे पनि घर फर्किएका छैनन् । भन्छन्, ‘सबथोक सकियो, अब कहाँ जाऊँ ?’ट्रमा सेन्टरको छैटौं तला । अप्रेसन गरेका बिरामी अधैर्यपूर्वक घर फर्किने दिन कुरेर बसिरहेका छन् । अस्पतालको दक्षिणपट्टि भित्तामा टाँसिएको पोस्टरमा लेखिएको छ, ‘गेट वेल सुन ।’

बिस्तारै निको हुँदै गइरहेका बिरामीको अनुहारमा खुसी फक्रिन थालेको देखिन्छ । बेड नम्बर ६३० का छोटु ठाकुरको मुहारमा भने निराशाको बाक्लो बादल मडारिइरहेजस्तो देखिन्छ । स्वास्थ्यमा उल्लेख्य सुधार आइसक्दा पनि उनी खुसी हुन सकिरहेका छैनन् । महोत्तरी गौशालाका ५६ वर्षीय उनलाई डाक्टरले डिस्चार्ज गरेको ५ दिन भइसक्यो तर घर फर्किएका छैनन् । फर्केर कहाँ जाने, कुनै टुंगो छैन ।

सबैजसो बेडमा सुतिरहेका बिरामीको छेउमा आफन्त वा परिवारका सदस्य झुम्मिएका छन् । उनीहरू सुस्त–सुस्त स्वरमा सुखदुःख साटिरहेका देखिन्छन् । छोटुको बेडछेउमा अनौठो शून्यता छ । उनका कुरुवा छैनन् । काठमाडौंमा बसेर ११ कक्षा पढ्दै गरेकी छोरी दिन बिराएर आउँछिन्, एकाध घण्टा कुर्छिन् र फर्किन्छिन् । महोत्तरीबाट आएका छोरा केही दिन कुरेर फर्किए । श्रीमती पनि केही दिन कुरेर घर सम्हाल्न फर्किइन् । केही दिन अघिसम्म उनको बेडछेउमा चौबिसै घण्टा केही प्रहरी घुमिरहेका हुन्थे । तिनले कुर्न छाडेको पनि एक साताभन्दा बढी भइसकेको छ ।

छोटु प्रहरीको निगरानीमा किन परे ? उनी किन दुई महिनायता अस्पतालको बेडमा पल्टिरहेका छन् ? यो कथा जान्न जेठ १२ गतेको घटनातर्फ फर्किनुपर्छ ।

उक्त दिन अपराह्न काठमाडौंका अनामनगर र सुकेधारामा झन्डै दस मिनेटको अन्तरमा विस्फोट भयो । नेत्रविक्रम चन्द समूहले १३ गते घोषणा गरेको बन्दको अघिल्लो साँझ शक्तिशाली विस्फोट भएको हो । अनामनगरस्थित लोकमञ्जरी कार्कीको घर र सुकेधारास्थित सैलुनमा भएको विस्फोटमा परी पाँच जनाको मृत्यु भयो । घाइते भएका ३ जना अहिले पनि उपचार गराइरहेका छन् । तिनैमध्येका एक हुन्, विस्फोट भएको सैलुनका मालिक छोटु । पाँच दिन आईसीयूमा उपचारपछि उनी होसमा फर्केका थिए । त्यसयता दुई महिनाभन्दा लामो समय ट्रमा सेन्टरको बेडमा पल्टिरहेका छन् ।

सुकेधारा विस्फोटमा दुई जनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारक्रममा मृत्यु भएको थियो । मृतकहरू दिपिन विक, गोकुल रानामगर, निरन्तर मल्ल र रामकुमार श्रेष्ठ तथा घाइतेहरू हरि खडका र सुरेन्द्र महर्जन चन्द समूहका नेता–कार्यकर्ता भएको प्रहरीले पुष्टि गरिसकेको छ । घटनालगत्तै प्रहरीले छोटु पनि चन्द समूहमा आबद्ध रहेको हुन सक्ने आशंकमा निरन्तर निगरानीमा राखेको थियो ।

दुई महिना बितिसक्दा पनि प्रहरीले उनको संलग्नता पुष्टि गर्न सकेको छैन ।

Comments

comments

सम्बन्धित शिर्षकहरु

  • सपथ खाँदा राष्ट्रपतिलाई किन ढाँटे ओलीले ?सपथ खाँदा राष्ट्रपतिलाई किन ढाँटे ओलीले ?
    काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको सपथ लिदाँ जनताको नाममा लिएका छन् । राष्ट्रपति […]
  • नुवाकोट पहिरोमा ५ को मृत्यु
    भदौ ११ । नुवाकोटको गोस्र्याङ–२ काभ्रेमा बिहीबार पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । नजिकैको ढुङ्गाखानी […]
  • नेपालको आर्थिक बृद्धिदर ७ प्रतिशत
    काठमाडौं, १३ वैशाख– दुई दशकपछि नेपालको आर्थिक बृद्धिदर ६.९४ प्रतिशत पुग्ने केन्द्रीय तथ्यांक विभागले […]
  • एसएलसीमा जुम्ला मध्यपश्चिमाञ्चलमै प्रथम
    ६ असार । जुम्ला, विसं २०७१ को एसएलसीमा जुम्ला जिल्ला मध्यपश्चिमाञ्चलमै प्रथम बनेको छ । मध्यपश्चिमाञ्चल विकास […]
  • स्वागत
    नव नियुक्त सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामकुकार साहलाई गरिएको स्वागत […]

  • हिंसा नभड्काउन आव्हानः नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय, धूम्रबाराहीमा आज आयोजना गरेको पत्रकार […]