सञ्चारमन्त्रीले टेलिकमका ३ सय वरिष्ठको जागिर किन खान खोजे ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का ३ सयभन्दा बढी कर्मचारीको जागिर खाने सञ्चारमन्त्री गोकुल बास्कोटा र प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको प्रयास ३ ट्रेड युनियन र कर्मचारीको एकताका कारण हाललाई टरेको छ । ‘मन्त्रालयले नेपाल टेलिकमलाई ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेरको हदमध्ये जो पहिला पुग्छ सोही आधारमा अनिवार्य अवकाश दिनेगरी बोर्ड निर्णय गर्नु र अनुमोदनका लागि लोक सेवा आयोगमा पठाउनू भन्ने पत्र बुधबार खोलिएपछि हाम्रो अफिसमा ठूलो तनावको वातावरण सिर्जना भयो,’ आधिकाररिक ट्रेड युनियनका अध्यक्ष यादव पनेरुले भने ।

अध्यक्ष पनेरुले भने, ‘पत्रको व्यहोराले एक स्वतन्त्र निकायको अधिकार क्षेत्र अतिक्रमण गरेको छ, यसलाई तीनवटै युनियनले विरोध गरे, आधिकारिक युनियनका तर्फबाट विज्ञप्तिसमेत निकालेर, मन्त्रालयको यस प्रकारको आदेश पालना हुन्छ भने हामी आन्दोलनमा उत्रन्छौं भन्दै दबाब दिइयो ।’

नेपाल समाचारपत्र दैनिक लेख्छ – कर्मचारीहरू संगठित भएपछि प्रबन्ध निर्देशक अधिकारीले ‘म मन्त्रालयलाई कन्भिन्स गर्छु’ भनेको पनेरुले जानकारी दिए । यही प्रयोजनका लागि अधिकारी मन्त्री बास्कोटा र सञ्चार सचिव महेन्द्रमान गुरुङलाई भेट्न मन्त्रालय गएको पनि बुझिएको छ तर यस सम्बन्धमा अधिकारीसँग जानकारी लिन खोज्दा उनको फोन उठेन ।

टेलिकम स्रोतका अनुसार १० तहको जुनियर अधिकृत रहेका डिल्लीराम अधिकारी राजनीतिक शक्तिका कारण प्रबन्ध निर्देशक भएका हुन्, उनी आफूभन्दा अनुभवी कर्मचारीलाई बिदा गर्न चाहन्छन् ।

‘सञ्चारमन्त्रीसँग राम्रो सम्बन्ध भएका कारण हाम्रो जागिर खान उनी सफल भए,’ टेलिकमस्थित १० औं तहका ती कर्मचारीले भने ।

उनका अनुसार एमडी अधिकारी वरिष्ठताको हिसाबले ५१ औं नम्बरमा थिए, खुला प्रतिस्पर्धाबाटै प्रबन्ध निर्देशक बनेका भनिएपनि राजनीतिक प्रभावमा हुने प्रमोसन हो । ‘सधैं ११ औं तहबाट एमडी बनाइने परम्परालाई तोड्दै १० तहका अधिकारी प्रबन्ध निर्देशक बनेका हुन्,’ उनले भने ।

‘मन्त्रालयबाट आएको पत्र बुधबार खोलियो, करीब १ साता पत्र नखोली राखिएको थियो,’ स्रोतले बतायो, ‘पत्रको व्यहोरा पहिला नै जानकारी भएकाले पत्र खोल्नका लागि पनि एमडीले साइत पर्खेको हुनुपर्छ ।’

लोक सेवा आयोगले अनुमोदन गरेको विनियमका साथ बुधवार प्राप्त ३० वर्षे अनिवार्य अवकाश लागू भयो भने टेलिकममा एमडी नै वरिष्ठ हुने उनले जानकारी गराए ।

अहिले टेलिकममा ३ ध्रुवमा विभाजित कर्मचारी छन्, सेवा अवधिका कारण वरिष्ठ र लामो अवधि सेवा गरेका एकथरि, अर्काथरि उनीहरूलाई हटाउन पाए आफ्नो हातमा नेतृत्व आउँथ्यो भन्ने सोचमा रहेका र बाँकी सामान्य । १० औं तहका अधिकारी नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भन्छन्, ‘राजनीतिक स्वार्थका कारण विगतमा पनि टेलिकममा यस्ता अवकाशका निर्णयहरू नभएका होइनन् तर यस निर्णयले मुलुक र संस्थालाई भने नोक्सान मात्र गर्छ, अनुभवी कर्मचारी हटाए अवसरवादीलाई मात्र लाभ हुनेछ ।’

यसअघि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री मीनेन्द्र रिजालले पनि ३० वर्षे सेवा अवधिको नियम लगाएर कर्मचारीको जागिर खाइदिएका थिए, त्यसअघि गिरिजाप्रसाद कोइरालाको पालामा पनि आफ्नो दलका मानिसलाई अवसर दिलाउन यही खेल खेलिएको थियो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

Comments

comments

सम्बन्धित शिर्षकहरु