पुष्पा भुसालको प्रश्न- सरकारी जग्गामा पार्टी कार्यालय राखेर नेकपाले कानून मिच्न मिल्छ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारी जग्गा भोगाधिकार र लिज सम्बन्धी कार्यनीति उल्लंघन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा पार्टी कार्यालय राखेको भन्दै त्यसबारे सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले नेकपाले कानून मिचेर पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको जग्गामा आफ्नो पार्टी कार्यालय राखेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्।

सार्वजनिक जग्गालाई पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानलाई भोगाधिकार दिएकोमा नेकपाले कानून मिचेर आफ्नो पार्टी कार्यालय सञ्चालन गरेको उल्लेख गर्दैै उनले सत्तारुढ दलको क्रियाकलापले ‘सत्ता पक्षलाई चैन अरुलाई ऐन’ भन्ने देखाएको टिप्पणी गरिन्।

सांसद भुसालले भनिन्,‘कांग्रेसको प्रतिष्ठालाई धेरै चिन्ता नलिऊ नेकपाको पार्टी कार्यालयले नियम मिचेर सार्वजनिक जग्गालाई भोगाधिकार गरिरहेको छ। त्यसको प्रतिष्ठामाथि बढी चिन्ता गराैं र त्यसलाई बचाउने कोशिस गरौं।’

बैठकमा कांग्रेसकै सांसद उमा रेग्मीले पनि सरकारी जग्गा कब्जा गरी सरकार नै स्वयं नियम कानून मिचेर अघि बढेकाले त्यसबारे सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरिन्। उनले दुई तिहाइको सरकार गठनसँगै भु-माफियाले सरकारी जग्गा कब्जा गर्ने क्रम बढेको दाबी गर्दै ‘भु-माफियाहरुको बिगबिगी किन यसरी बढेको’ भन्ने प्रश्न गरिन्।

भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुमबराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको छ। सरकारबाट भोगाधिकार पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन नपाउने कानूनी व्यवस्था विपरित नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक भाडा तिर्दै आएको भन्दै कांग्रेसले कानून कार्यान्वयनमा सचेत हुन सरकारको ध्यानाकर्षण गराएको हो।

प्रतिष्ठानलाई सरकारले २०६३ मंसिर २१ गते भोगाधिकारका लागि सो जग्गा उपलब्ध गराएको थियो।

Comments

comments

सम्बन्धित शिर्षकहरु