साढे ७ अर्बसहित अष्ट्रेलियामा पक्राउ परेका नेपालीको धरौटी अस्वीकार

अष्ट्रेलिया । १० करोड अष्ट्रेलियन डलर (करिब ७ अर्ब ५९ करोड २ लाख रुपैयाँ ) अवैध हुण्डी कारोबारको अभियोगमा पक्राउ परेका नेपालीलाई स्थानीय अदालतले धरौटी अस्वीकार गरेको छ । द सन्डे मर्निङ्ग हेराल्डकाअनुसार पक्राउ पर्नेमा ३० वर्षीय गगनदीप पहवा, उनका साझेदार ३० वर्षीय गोपाली दाहाल र उनीहरुका एशोसिएट २९ वर्षका विपिन थापा रहेका छन् । उनीहरुलाई क्रिमिनल ग्रुप्स स्क्वाडले गएको बिहीबार पक्राउ गरेको हो ।

तीनैजनाले साउथ वेस्ट सिड्नी सेक्युरिटी बिजनेशलाई आफ्नो देखिने कारोबारका रुपमा अघि सारेका थिए । उनीहरुको नेपाल कनेक्सनको बारेमा भने कुनै जानकारी भएको छैन । नेपाल प्रहरीका एक उच्च अधिकारीले सो घटनामा संलग्न व्यक्तिको बारेमा जानकारी नभएको बाह्रखरीसँगको कुराकानीमा बताएका छन् । ती व्यक्तिहरुले तीन चार वर्षको अवधिमा ८ करोड डलरसम्मको कारोबार गरेको पाइएको छ । अदालतमा पेश गरिएका उनीहरुको धरौटी अस्वीकार गरिएको छ । पहवा र थापालाई स्थानीय पारामत्ता अदालतमा अडियो भिजुअल लिंकमार्फत पेश गरिएको थियो भने दाहाललाई अडियो भिजुअल लिंकमार्फत् नै फेयरफिल्ड स्थानीय अदालतमा पेश गरिएको थियो ।

अदालतले नै धरौटीलाई अस्वीकार गरेको थियो । फौजदारी वकिल इजाज खानले आफू र आफ्नो टोलीले प्रहरीको पूर्ण ‘फ्याक्ट सिट’ हेर्न बाँकी रहेको जनाएका छन् । अदालतको कागजातका अनुसार यो अपराधमा संलग्न तीन जनाले १०० मिलियन डलर भन्दा माथिको गलत धन्दा गरेको पाइएको छ । पहवालाई आपराधिक समूहलाई परिचालन गरेको अभियोग लगाइएको छ भने थापा र दाहाललाई आपराधिक गतिविधि अघि बढाउन भूमिका खेलेको आरोप लगाइएको छ । प्रहरीले बिहीबार बिहान पक्राउ गर्दा तीनैजना आश्चर्यमा परेका थिए । छापा मार्ने क्रममा प्रहरीले उनीहरुसँगबाट ४ लाख डलर समेत बरामद गरेको थियो । उनीहरुसँगबाट पैसा गन्ने मेशिन, तीनवटा सवारी साधन र कपडा पनि प्रहरीले फेला पारेको थियो ।

डिटेक्टिभ चिफ इन्सपेक्टर निक रिडले अपरेसनलाई निकै जटिल भएको बताएका छन् । अनुसन्धानकर्मीले थप प्रमाण संकलन गरिरहेको जनाउँदै उनले सायद आगामी दिनमा यो घटनामा थप मानिस पक्राउ पर्न सक्ने समेत जनाएका छन् । सो प्रकरणमा ५ व्यक्तिलाई अभियुक्त बनाइएको देसीब्लिज अनलाइन संस्करणले जनाएको छ । सो अनलाइनका अनुसार सो घटनामा ३१ वर्षीय भारतीय नागरिक मनमिन्दर सिंहलाई पनि जुलाई २५ का दिन पक्राउ गरिएको थियो । उनले एकै दिनमा ९ पटक गरेर ५ लाख डलर डिपोजिट गरेको पाइएको छ । उनी भारतको पन्जाबका भएको बताइएको छ ।

उनी अवैध भिसा अवधी सकिएर पनि अवैध रुपमा त्यहाँ बस्दै आएका थिए । सो घटनामा संलग्न अर्का व्यक्तिको नाम नितिन कपिला हो । सिडनी इन्टरनेसनल एयरपोर्टमा पक्राउ परेका कपिलाले देश छोड्न खोजेका थिए । स्थानीय अदालतमा दाहालको सुनुवाई १२ सेप्टेम्बरका लागि तोकिएको छ भने दाहालको सुनुवाई सेप्टेम्बर ९ मा हुने जनाइएको छ । कपिलाले भने अगस्ट ६ का दिन सेन्ट्रल लोकल कोर्टमा अगस्ट ६ का दिन आवेदन गर्न सक्ने जनाइएको छ । – १२ खरीवाट

सम्बन्धित शिर्षकहरु