कांग्रेसका मेयरविरुद्ध नेकपाका चार वडाध्यक्ष धर्नामा

काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई विरुद्ध चारजना वडाध्यक्षसहितका स्थानीयवासीले नगरपालिका कार्यालयमा धर्ना दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको टोलीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन्।

धर्नाको कारण मंगलबार कार्यालयको काम प्रभावित भएको छ। धर्ना आज पनि जारी छ। मेयर राईल वडालाई अघिल्लो वर्षको तुलनामा कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट प्राथमिकीकरण गर्दै ल्याइएका वडास्तरीय योजनालाई लत्याइएको वडा नम्बर २ का अध्यक्ष हरिकुमार खड्काले बताए।

खड्कासँगै वडा नम्बर ३ का अध्यक्ष भलाराज राई, ५ का वडाध्यक्ष रमेश तिवारी र ७ का वडाध्यक्ष चइन्द्र राईको नेतृत्वमा धर्ना दिइएको हो। उनीहरुले नगरसभा समेत बहिष्कारको घोषणा गरेका थिए। उनीहरुले नगरसभा बहिष्कार गरेको हप्ता दिनपछि मङ्गलबार दिउँसो करीब एक घण्टा धर्ना दिएका हुन्।

चार वडाध्यक्षले आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आव २०७५/७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्न माग गरेका छन्।

सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको उनीहरुको आरोप छ।

चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले बुधबार एक घण्टा चक्काजाम गर्ने जनाएका छन् ।
नगरप्रमुख राईले वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोध गर्नुको औचित्य नभएको दाबी गरे।

“विरोधका लागि विरोध हो भने त्यसको कुनै औचित्य छैन”, उनले भने, “महालेखा परीक्षकको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले सार्वजनिक गर्ने हो। तत्काल सार्वजनिक गर्न निर्देशन दिएको छु। वार्षिक प्रगति समीक्षा साउन महीनाभित्र गर्ने निर्णय भएको छ।”

नगरप्रमुख राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका हुन्। जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत रहेको छ।

Comments

comments

सम्बन्धित शिर्षकहरु