आगामी २४ घण्टामा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौं । आगामी २४ घण्टामा देशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाका कारण देशको पहाडी भू-भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहावको स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।

यसका साथै, हवाई तथा सडक यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ । त्यसैगरी मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट दक्षिणतर्फ सरेकोले आगामी तीन-चार दिन अविरल वर्षाको सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताए ।

उनका अनुसार यो अवस्थामा वर्षा नै नहुने भने होइन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने हुन्छ । अबका केही दिन निरन्तर र अति भारी वर्षाको सम्भावना कमै रहेको नगरकोटीले बताए ।

महाशाखाले आगामी तीन दिनको पूर्वानुमान जारी गदै आज देशभर आंशिकदेखि सामान्य बदली रही केही हल्कादेखिमध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । बिहीबार देशैभरी आंशिक बदली रही देशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । – रासस

Comments

comments

सम्बन्धित शिर्षकहरु