बिष्णु भगवानको उपासना गर्ने पर्व हरिशयनी एकादशी किन मनाइन्छ ? यस्तो छ महत्व

आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी’ एकादशी भन्ने गरिन्छ। ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ। ‘शयन’ को अर्थ सुत्नु हो। आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो।

पुराणहरूमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ। आषाढको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ। यसर्थ पछिल्ला दुई एकादशीलाई क्रमशः हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ। समग्र मानवजातिलाई भगवानका यी क्षणहरू परम कल्याणदायी मानिन्छन्। यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यी क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ। स्कन्दपुराणमा आषाढ शुक्लपक्षको एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने वचन पाइन्छ।

आषाढ शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ। ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ। व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार-व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ। यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ। तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत–उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन। भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ। नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य हो। गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन्। यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो। विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेकाले यो काम्य पनि हो।

श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास भन्दछन्। चतुर्मासभरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरू नष्ट भई भगवानको आशीर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ। निष्काम भावले व्रत बसी विधिपूर्वक पारण गर्नाले भगवान् हृषीकेश प्रसन्न हुनुहुन्छ र व्रतीका समस्त मनोकामना पूर्ण हुन्छन्। भविष्यपुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दै चतुर्मास व्रत गर्दछन्, ती मानिस देहान्त भएपछि सूर्यजस्तै चम्किलो विमानमा सवार भई महाप्रलय नहुँदासम्म विष्णुलोकमा आनन्दपूर्वक निवास गर्दछन्।

सबै एकादशीमा भगवान विष्णुको पूजा–आराधना गरिन्छ। तर यस दिनदेखि भगवान शयनावस्थामा रहनुहुने भएकाले भगवानलाई विशेष विधिले पूजा गर्ने चलन छ। यस दिन भगवानको प्रतिमालाई पञ्चामृत तथा शंखजलले स्नान गराएर विशेष आसनमा आसीन गराइन्छ। त्यसपछि चन्दनादिको लेप लगाई षोडशोपचारले पूजा गरेर हातमा शंख, चक्र, गदा, पद्म एवं शरीरमा पीताम्बर तथा आभूषणले सुशोभित गरिन्छ। यसरी भगवानको महापूजा गरी जुहीको माला टक्र्याउँदै यस मन्त्रले प्रार्थना गर्नुपर्दछ–

‘सुप्ते त्वयि जगन्नाथे जगत्सुप्तं भवेदिदम्।
विबुद्धे च विबुध्येत प्रसन्नो मे भवाच्युत।।’

(हे जगन्नाथ, हजुरको शयन हुँदा संसार निद्रित हुन्छ र हजुरको जागरण हुँदा संसार जाग्दछ। हे अच्युत, ममाथि प्रसन्न हुनुहोस्।)

चतुर्मास व्रत लिनेहरूले भगवानको प्रतिमासामु यस्तो प्रार्थना गर्नुपर्दछ–

चतुरो वार्षिकान् मासान् देवस्योत्थापनावधि।
इमं करिष्ये नियमं निर्विघ्नं कुरु मेSच्युत।
इदं व्रतं मया देव गृहीतं पुरतस्तव।
निर्विघ्नं सिद्धिमायातु प्रसादात्तव केशव।।

(हे प्रभु, यो वर्षका चार महिना, हजुरको जागरण नभएसम्म म यो व्रत गर्नेछु। हजुरले यसलाई निर्विघ्न तुल्याउनुहोस्। मैले यो व्रत हजुरका सामु लिएको छु। यसर्थ निर्विघ्नपूर्वक व्रतको सिद्धिका लागि हजुरसँग प्रार्थना गर्दछु।)

यसरी प्रार्थना गरेपछि अनेक प्रकारका नैवेद्य, फल आदिको भोग लगाई आरती, पुष्पाञ्जली अर्पण गरेर पूजा समापन गर्नुपर्छ। ब्राह्मणलाई भोजन गराएर स्वयं आफूले फलाहार गर्नुपर्छ। रात्रिकालमा भजन, कीर्तन, कथाश्रवण गरी भगवानलाई शयन गराएपछि आफू भगवानको नजिकै शयन गर्नुपर्छ।

श्रीहरिको शयनकालमा भगवानको आशीर्वाद प्राप्त गर्न नसकिने अवस्था रहेकाले व्रतबन्ध, विवाहलगायत शुभकर्म गर्न हुँदैन। व्रतीहरूले श्रावणमा सागपात, भाद्रमा दही, आश्विनमा दूध र कार्तिकमा दाललगायत द्विदलीय गेडागुडी सेवन नगर्नु भन्ने शास्त्रवचन रहेको छ। यस्तै व्रतालुहरूले इन्द्रिय शोधन तथा शरीर शुद्धिका लागि चतुर्मासमा ज्यामिर, राजमा, मसुरो, सर्स्युं मूला, गाजर, उखु, कुभिन्डो, इमली, बयर, भन्टा, अमला आदि सेवन गर्नुहुँदैन। एकादशीमा एक दिन अघिदेखि व्रत पूर्ण नहुँदासम्म व्रतालु पतिपत्नीले सहवास गर्न हुँदैन। यस्तै माछामासु, मदिरा, लसुन, प्याज आदि व्रतालुले छुन हुँदैन। आफ्ना आराध्य देव शेषशय्यामा रहँदा पलङमा सुत्न र झूटो बोल्न पनि हुँदैन भन्ने शास्त्रवचन रहेको छ। चतुर्मास व्रत लिनेहरूले व्रतअवधिभर नै यी नियमहरू पालना गर्नुपर्दछ।

यहि दिन भगवानकी प्रियस्वरूपा तुलसी घरघरमा रोपण गरी चतुर्मासभरि राधा–दामोदरका रूपमा तुलसी एवं विष्णुको आराधना गरिन्छ। हरिबोधिनी एकादशीमा भगवान श्रीहरि जागरणपश्चात् तुलसी विवाहोत्सव गर्ने विधान छ। धार्मिक रूपमा पवित्र एवं परं कल्याणकारी र आयुर्वेदमा अनेक रोगको निदान गर्ने गुणकारी महौषधिका रूपमा प्रसिद्ध तुलसीलाई आफ्नो घरआँगनको चोखो स्थानमा यो दिनमा रोपण गरिन्छ। यसो गर्दा आफ्नो स्थानमा साक्षात् नारायणको निवास हुने हुँदा घरमा सुख-समृद्धिको आगमन हुन्छ।

-उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

comments

सम्बन्धित शिर्षकहरु